माटोको सिंदुर

माटोको सिंदुर

उ म भन्दा कति बर्ष जेठो थियो थाहा भएन । घर कहाँ झन थाहा हुने कुरै भएन । म कक्षाको ढोका भन्दा ठिक्क बिपरित झ्यालनेर फस्ट डेस्कमा बस्थेँ । निमा भाउजुको दोकान हुँदै आउने बाटोबाट टुप्लुक्क आइपुग्थ्यो निमेष । स्कुल भरिका धेरै विद्यार्थीहरुका स्कुल आउने बाटो थियो त्यो , तर म निमेष आईपुगेको मात्र देख्थेँ । उसलाई स्कुलसम्म ल्याइ पुर्याउने बाटो उकालो थियो । निमा भाउजुको पसलदेखि स्कुलसम्म आइपुग्न अलिकति तेर्सो बाटो हिड्नुपर्थ्यो । निमेष टुप्लुक्क आइ पुग्दा म परैबाट देख्थेँ , उसको नाकको डाँडिमा चिपचिप पसिना , दुबै कान अलिअली छोपिने कपाल , खुकुलो पेन्ट र भरी किताब हालेको क्लिपवाला ब्याग । दौडिदै आउथ्यो र पहिलो घन्टी नलागुन्जेल जान्थ्यो खेल्न । घन्टी लागेपछि सबै विद्यार्थी छिर्थे कक्षामा सरासर, त्यही भिडमा निमेष पनि छिर्दथ्यो । उ पल्लो छेउतिरको डेस्कमा बस्थ्यो, म ओल्लो छेउकोमा । निमेष र म एउटै कक्षामा पढ्थ्यौँ । सँगै । कक्षा ४ मा ।
म कक्षा १ देखि नै त्यही स्कुलमा पढेकी विद्यार्थी थिएँ । निमेष यहि सालदेखि आउन थालेको थियो । पबित्रा मेम । हामी सबैको प्यारी मेम । पहिलो घन्टी नेपाली उहाँको थियो । हातमा हाजिर खाता लिएर हाँस्दै कक्षामा आउनुहुन्थ्यो । मेम कक्षामा छिर्ना साथ सबैजना उठ्थ्यौँ । प्रणाम गर्थ्यौँ , बस्थ्यौँ । यो सबगर्दा मैले घरी घरी निमेशलाई हेरिरहेकी थिएँ । निमेष केही नौलो मानि रहेको थियो । पबित्रा मेडमले सरासर हाजिर गर्न सुरु गर्नुभयो । रोल नम्बर १ जीविका लामिछाने ! म जुरुक्क उठेँ र “एस मेम“भनेँ । सरासर बोलाउँदै जानुभो । सबै साथीहरुले आफू उपस्थितभको आफ्नो आफ्नै पालोमा जानकारी गराउदै बस्दै गरे । रोल नम्बर २९ निमेष प्रजापति ! हड्बडाउदै “एस मिस“भन्यो र थुचुक्क !बस्यो । म थोरै भुइँतिर हेरेर मुस्कुराएँ । कस्तो तिखो तीखो स्वर ।

मेरा पुराना साथीहरु थुप्रै थिए । तर उ नयाँ विद्यार्थी भएको हुनाले साथीहरु थिएनन । टिफिन हुन्थ्यो । अरु सब्बै साथीहरुले आफ्नो बट्टाको खानेकुरा खान्थे । निमेष एक्लै हुन्थ्यो । केवल हेरिरहन्थ्यो सबैतिर टुलुटुलु । मसँग घरबाट लगेको टिफिन हुन्थ्यो । मैले खादा निमेशलाई पनि लगेर दिन मन लाग्थ्यो तर आँटआउदैनथ्यो । मनमनै सोच्थेँ , उसले किन नल्याएको होला ! टिफिन । मेरो जस्तो मम्मीले बट्टामा प्याक गरेर किनन दिनुभएको होला?उसले पनि ल्याको भए, खाको भए ! प्रत्येक दिनको टिफिनमा सोचिरहन्थे म । अरु धेरै पुराना साथीहरु भएपनी सबैभन्दा नजिकको मान्छे लाग्न थाल्यो मलाई निमेष ।

बिस्तारै बिस्तारै मेरा पुराना साथीहरुसँग म टाढिदै गएँ । जहाँ निमेष एक्लै खेल्दै हुन्थ्यो त्यही गएर म पनि उसँगै खेल्न थाल्थेँ । उ खेल्दै गरेको ठाउँमा म जाँदाअलि पर जान्थ्यो र फेरि खेल्न सुरु गर्थ्यो । फेरि म उ भएकै ठाउँमा जान्थे । बिस्तारै हामीसँगै खेल्न थाल्यौं । म उसलाई सधैं सरले दिएको होमवर्क सार्न दिन्थेँ । बिहानै कक्षा सुरु हुनुभन्दाअगाडि मेरो कपिबाट खुरुखुरु होमवर्क सार्थ्यो ... निमेषले ।

एकदिन निर्मल सरको होमवर्क सार्न भ्याएन । होमवर्क नगर्नेलाई कारबाही स्वरुप दुई लौरो हान्ने निर्मल सरको चलन थियो । त्यो दिन निमेषले पनि नराम्ररी खायो निर्मल सरको चुटाई । त्यो बेलान निमेषले म तिर हेर्न सक्यो न मैले उ तिर । टिफिनमा उसको हातमा हेरेँ । पारि वनमा लागेको डढेलो जस्तै रातो डामथियो । उसको हात मेरो हातमा राखेँ । वनमाराको पात निचोरेर लगाइ दिए ।बेलुकासम्म मै निको हुने आश्वासन दिए । निमेषको अनुहारमा छुट्टै चकम आयो । त्यही चकम मेरो अनुहारमा पनि सरक्कै सर्यो ।

लाग्थ्यो निमेष र मेरो रोल नम्बर एउटै भैदियोस । पबित्रा मेमले बोलाउँदा एकैचोटि एस मेम भन्न पाइयोस । उ र म बस्ने डेस्क एउटै होस् । निमेष र म सधै उसैगरी खेल्न पाइरहुँ । निमेषले मलाई उसको घर लैजाओस । मलाई पनि म निमेष कै हुँ ! जस्तो लाग्न थालिसकेको थियो । हामी माटोको घर बनाउथ्यौँ , ढुङ्गालाई गाई भैंसी मानेर पाल्थ्यौँ । घाँस हाल्थ्यौँ । माटो कै खाना पकाउथ्यौँ । चिउँडोमा माटो दलेर खाना खाए झैं गर्थ्यौ दुबैजना । बिहे गर्थ्यौ । श्रीमान श्रीमती बन्थ्यौ ।निमेषले मलाई गोगनेको पात मेरो टाउकोमा राखेर माटोकै सिँदुर हालेको थियो एक दिन ।
लाग्थ्यो घरमा ड्याडी ममिले जे जे गर्नुहुन्छ, त्यो सबथोक गर्नुपर्छ हामीले । निमेष र मेरो त्यतिबेला कक्षा ५ को फाइनल परिक्षा आउन आँटेको थियो । कक्षा छुट्टि भएपछि पनि हामी एक्छिन खेलेर मात्र छुट्थ्यौँ । लाग्थ्यो निमेष स्कुल न आउने दिन स्कुल नै छुट्टि भैदियोस । उ बिना खेल्नुको कुनै अर्थ लाग्दैनथ्यो । उ न आको दिन एक्लै बसिरहन्थेँ म उसैलाई सम्झेर ।

आज लगातार १५ दिनभयो । निमेष स्कुलआएकै छैन । निमा भाउजुको पसलको डिलमा गएर निमेष आउने बाटोको तलसम्म हेरेँ , देखिन । बोलाए , कोहि बोलेनन । निमेष चटक्कै स्कुलआउन छोड्यो । मैले त केहीभएको थिइन । किन आएन यत्रो दिनसम्म पनि निमेष । मेरो टिफिन नमिठो लागेर पो हो कि ?, मेरो होमवर्क सार्दा घरमा गर्ने चिजपो हो त होमवर्क भनेकोले चित्त दुखाएर हो कि ? बाटो तिर खोलातर्ने पुलभत्केर पो हो कि ? मलाईसम्म केही नभनी कन कहाँ गयो होला निमेष !

एक महिनापछि कक्षामा पढाउँदा न सरले भन्नुभो । निमेषलाई त ठूलो रोग लाग्यो अरे । उपचार गर्नेगरि निमेषको परिवार नै बसाइँ सरेर शहर गए अरे । एक त निमेषलाई के रोग लागेछ भन्ने लाग्यो एकमनले , अर्को मनले अब निमेष कहिल्यै गाउँ न फर्किने गरि शहर गएछ भन्ने लाग्यो । सँधै निमेषलाई पनि भनेर थपेर ल्याउने टिफिन अब ल्याउनै छोडेँ । उ बस्ने बेन्चमा अरु नै बस्नथाले । निमेष र म खेल्ने ठाउँमा अब उसमा र मेरो पैतालाका धमिला डोबहरु र ताजायादहरु मात्र छन् ।

आज ठिक २१ बर्सपछाडि म ,मेरो बानेश्वरमा रहेको अफिसबाट ट्याक्सिमा डेरा फर्किँदा चालकलाई  यो सब कहानी सुनाइरहेको थिएँ । सब्बै सुनिसकेपछी त्यो चालकले आँखामा छ-छल्किरहेको सागर बोकेर म तिर एकटकले हेरिरह्यो। उसले म तिर फर्किँदा मेरा आँखाहरु चालकको घाँटीमा झुन्डिएको चालक परिचय पत्रमा पुगे । अलिअली जुँगाको रेखी बसेको फोटो टाँसेको उसको परिचयपत्रमा प्रस्टसँग देखेँ - नाम निमेष प्रजापति , ठेगाना सिन्धुपाल्चोक !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्