मलामी जान निःशुल्क बस उपलब्ध गराउँछन् विराटनगरका करिम

मलामी जान निःशुल्क बस उपलब्ध गराउँछन् विराटनगरका करिम

सुजता लिम्बु
विराटनगर ।
‘बाध्यताले जब ठूलो स्वर निकाल्न सुरु गर्छ रहरहरु सबै मौन हुन्छ ।’ यो भनाई र विराटनगर–१ का करिम अन्सारीको कथा मिल्दोजुल्दो छ ।
दश वर्षको छँदा उनको पढ्ने, रमाईलो गर्ने रहरहरु थिए । तर, घरको जिम्मेवारीले काँध गहकिलो भएपछि उनका सबै रहरहरु गुमनाम भए । ८ वर्षको कलिलो उमेरमा आमाको न्यानो काख खोसिएपछि घरको जिम्मेवारी उनको काँधमा आइपरेको थियो ।

घरको परिस्थिति त एउटा पाटो रहयो नै त्यसमा पनि इराकमा १२ जना नेपालीहरुको हत्यापछि मुस्लिम समुदायलाई नेपाली समाजले हेर्न दृष्टिकोण फेरियो । कलिलो उमेरमा विद्यालयको प्रवेशद्धार पुग्न नपाई उनको यात्रा गाडीको ढोका तर्फ मोडिन बाध्य बन्यो ।

‘म ८ वर्षको हुँदा आमा वित्नुभयो, त्यसपछि घरको जिम्मेवारी बुबासँगै मेरो काँधमा आइप¥यो । बुवा मिस्त्री काम गर्नुहुन्थ्यो तर त्यो समय रोजगारीका लागि इराकमा पुगेका १२ जना नेपालीलाई हत्या गरेपछि यहाँ पनि मुस्लिम समुदायलाई हेर्ने दृष्टिकोण फेरियो,’ उनले बाल्यकाल स्मरण गर्दै सुनाए,‘ बुबाको लामो दाह्री थियो, केही हुन्छ होला भनेर बाहिर काममा निस्किन छोड्नु भयो । त्यहाँबाट मेरो काँधमा गहकिलो जिम्मेवारी आइपरेको हो ।‘ बुबा घरबाहिर निस्किन छोडेसँगै घर खर्च चलाउन गाह्रो भएपछि उनी १० वर्षको उमेर देखि सहचालकको रुपमा काम गर्न सुरु गरेका थिए ।

किताब समाउने हातले गाडीको ढोका ढक्ढक््याउन र यात्रुहरुसँग सवारी भाडा दरका विषयमा सवालजवाफ गर्दै उनको कलिलो उमेर बित्यो । पहिलो पटक गाडी मालिकले काम गरे बापत पारिश्रमिक ५० रुपैँया दिँदा उनलाई करोड कमाए झैँ महशुस भएको सुनाए । ‘मेरो पहिलो कमाई ५० रुपैँया थियो, त्यो पनि घर खर्चको लागि बुबालाई दिएको थिए,’ उनले सुनाए ,‘त्यो पहिलो कमाई मेरा लागि धेरै महत्वपूर्ण थियो, त्यसले घरको आवश्यकता ट¥यो या टरेन तर पहिलो कमाई त्यो पनि कलिलो उमेरमा कमाएको खुशी लागेको थियो ।’ कलिलो उमेरमा घरको जिम्मेवारी थेग्दै दुख र सुखका थुप्रैवटा संघर्षका नदी तरेका उनको जीवन यात्राले सफलताको गन्तव्य पहिल्याउन त्यति सहज थिएन । यद्यपि कडा मेहेनत र लगनशिलताले अगाडी बढेको उनको यात्रा कुनै पनि खाल्को कठिन परिस्थितिले रोक्न सकेन ।

मेहेनत गरे एकदिन सफलता पाइन्छ भन्ने सोँच राख्ने उनी हिजो कुनै साहुको गाडीमा भोको पेट र परिवारको जिम्मेवारी बहन गर्न काम गर्थे । कठिन संघर्ष गरेका उनी अहिले तीनवटा बसको मालिक बनेका छन् । आफू संघर्षको दौरानमा अभाव र भोको पेट हिँड्दै गर्दा कहिले मान्छेले गिराउन खोजे त कहिले साथीभाईहरु हेपाह प्रवृतिले प्रस्तुत भए । यी सबै घटनाहरुलाई सफलताको सुत्र बनाएर अगाडी बढेका उनी ५० रुपैँया देखि सुरु गरेको उनको कमाई अहिले महिनाको डेढ देखि दुई लाखसम्म हुन्छ । त्यसो त उनी गाडीको मालिक मात्रै होइन त्यही गाडीको माध्यमबाट समाजमा सेवा पनि पु¥याउदै आइरहेका छन् ।

जीवनको उर्जाशिल उमेर गाडीको इन्जिन, यात्रु र यात्रासँग जुधेर विताएको उनले आफूले भोगेको तितामिठा भोगाइलाई शिक्षाको रुपमा ग्रहण गर्दै सामाजिक काममा अगाडी बढेको सुनाए । दुईवटा बस धरान–विराटनगरका लागि सञ्चालनमा ल्याएका छन् भने तीन महिना देखि एउटा बस निःशुल्क मलामी जानेहरुलाई बोक्न प्रयोगमा ल्याएका छन् ।
दुईवटा बसको आम्दानीले परिवारको भरअभर र छोराछोरी पढाउन पुग्ने बताउने उनी एउटा बस समाजका लागि सुम्पिदिएकोे बताउँछन् ।
‘मेरो बाल्यकाल र लक्का जवानी गाडीको यात्रा र यात्रुहरुसँग लामो समय विताए, त्यहीबाट धेरै खाल्को मान्छे र उनीहरुको अनुभवसँग जोडिएको छु,’उनले भने,‘कति अभावमा छटपटिएको पनि देखेको छु सबैको भोगाइबाट बुझेर नै मैल एउटा गाडी सामाजिक कामको लागि प्रयोगमा ल्याएको हो ।’ उनले मलामीको लागि निःशुल्क बस सेवा भनेर आफ्नो सवारीमा व्यानर टाँगेका छन् भने फोन नम्बर पनि छोेडेका छन् । त्यसो त उनले ३९ जनाको निधनमा मलामी जानेहरुलाई घाटसम्म पु¥याउने र ल्याउने गरिसकेका छन् ।

कसैले खुशीले तेल हाल्दिने त कसैले खर्च भन्दै पैसा पनि दिने गरेको उनले बताए । ‘म आफै पैसा माग्दिन उहाँहरुले खुशीले दिनुहुन्छ, हामी त मुस्लिम हो हिन्दुहरुकोमा निःशुल्क मलामी बोक्दा भार लाग्छ भन्ने भनाई रहेछ त्यही भएर पैसा दिनुहुन्छ,’ उनले भने,‘ सबै पैसाको पहुँचमा पनि त हुँदैन ।’ सकेसम्म यो सेवालाई निरन्तरता दिने बताउने उनी वित्तीय संस्थाबाट ऋण लिएर तीनवटा बस खरिद गरेकोे सुनाउँछन् । आफूले लिएको ऋण सहि ठाँउमा सदुपयोग गर्न सके किस्ता पनि तिर्न सकिने र घरपरिवारको पनि राम्रो पालनपोषण गर्न सकिने उनको बुझाई छ । सकेसम्म आफूले थालेको कामलाई निरन्तरता दिने बताउने उनी परिवारलाई खान पुगे र सन्तान पढाउन सक्ने पैसा भए त्यसैमा आफू सन्तोष रहने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्