काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ ।
पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो।
प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान गरिरहेको छ। सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।