-नवीन अभिलाषी
एक स्कूल गैरहेकी हजुर आमा
बन्द कारागारको
ढोका खोलेर मैले आकाशको उज्यालो हेरेँ ।
अब यी सम्पूर्ण रंगहरु मेरा हुन् ।
लार्भाबाट निस्केर
मैले पुतली पङ्ख फटपटाएँ ।
अब यो बतास मेरो हो ।
गाउँको एक विहान
अध्याँरो इनारबाट म एक बाल्टी बाहिर आएँ
सदियौँ देखीको प्यास अब मेरो हो ।
अब म आफ्नै ठेगाना बताउन सक्नेछु ।
मैले कोरेका अक्षरहरु मेरा कान्छा सन्तानहरु हुन्
जो पहिलो हुन सकेनन्, जस्को पीर धेरै हुन्छ ।
-जीवनभर रोइसकेपछि थाहा पाएँ
आँसु अक्षरले बनेको हुन्छ
-जीवनभर बोलेपछि थाहा पाएँ
प्रत्येक आवाजमा शब्द हुन्छ
-संसार हेरि सकेपछि आँखा बस्ने बेला थाहा पाएँ
प्रत्येक दृश्यको नाम हुन्छ ।
-जीवनको हिसाव हुन्छ
-मैले थाहा पाएँ अब - उमेरको पनि अंक हुन्छ ।
अब यी अक्षरहरुले मलाई लेखुन्
अब यी अंकहरुले मेरो हिसाव गरुन् ।
पौने शताब्दी लामो ओढारको बाटो हिँडेर
म सूर्यास्तमा
आकाश मूनी आएँ - अब म मान्छे भएँ ।।