पाकिस्तानका पूर्वप्रधानमन्त्री खानद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशव्यापी ‘स्वतन्त्रता’ प्रदर्शनका लागि आह्वान गर्नुभएको छ ।

यसै साता आफ्नो संक्षिप्त गिरफ्तारी र हिरासतले देशव्यापी अशान्ति भएपछि अदालतको आदेशमा उहाँलाई रिहा गरिएको थियो ।

गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका क्रिकेट सुपरस्टारको पक्राउलाई सर्वोच्च अदालतले ‘गैरकानुनी’ ठहर गरेपछि उहाँलाई शुक्रबार जमानतमा रिहा गरिएको थियो ।

गिरफ्तारीबाट आक्रोशित समर्थकहरूले सरकारी भवनहरूमा आगजनी गरेका थिए भने सडकहरू अवरुद्ध गरेका थिए । उनीहरूले सेनाको सम्पत्तिमा क्षतिसमेत पु¥याएका थिए ।

“स्वतन्त्रता सजिलै आउँदैन । हामीले त्यसलाई खोस्नु पर्छ । यसका लागि सबैले त्याग गर्नुपर्छ,” शनिबार राति युट्युबमा प्रसारण गरिएको सम्बोधनमा उहाँले भन्नुभयो ।

उहाँले समर्थकहरूलाई आइतबार साँझ स्थानीय समयानुसार ५ः०० बजे एक घण्टाका लागि देशभरका ‘आफ्ना सडक र गाउँहरूको चोकमा’ विरोध प्रदर्शन गर्न आह्वान गर्नुभएको थियो ।

पाकिस्तानमा पाँच दिनसम्म चलेको कोलाहलपछि आइतबार बिहान शान्त रहेको थियो । खानले तत्काल चुनावका लागि बुधबार नै चुनावी अभियानमा फर्कने प्रतिबद्धता जनाउनुभएको थियो । महिनौंदेखि पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका नेताले सेनाविरुद्ध अवज्ञाको अभियान चलाइरहेका छन् ।

गत वर्ष आफूविरुद्ध भएको हत्याप्रयासमा वरिष्ठ अधिकारीको संलग्नता रहेको बताएको केही घण्टापछि गत मङ्गलबार उहाँलाई पक्राउ गरिएको हो ।

पाकिस्तानको शक्तिशाली सेनाले आफ्नो ७५ वर्षको इतिहासको लगभग आधा भाग देशमाथि प्रत्यक्ष रूपमा शासन गरेको छ र राजनीतिक प्रणालीमाथि शक्ति प्रयोग गरिरहेको छ ।

“सेना प्रमुखको कदमले हाम्रो सेनालाई नराम्रो बनाएको छ । यो उहाँको कारणले हो, मेरो कारणले होइन,” खानले लाहोरस्थित आफ्नो घरबाट गरेको सम्बोधनमा भन्नुभयो । “यद्यपि उहाँले सेवारत प्रमुखलाई सङ्केत गर्नुभएको हो वा उहाँका पूर्ववर्तीलाई यो स्पष्ट गरिएको छैन । पूर्वप्रधानमन्त्री खानले आफ्नो बर्खास्तीको लागि सेनाको भूमिकामाथि प्रश्न उठाउनुभएको थियो ।

यसअघि उहाँले पत्रकारसँग कुरा गर्दै आफूलाई पक्राउ गर्नुमा ‘एक व्यक्ति, सेना प्रमुख’ को हात रहेको बताउनुभएको थियो ।

तर खानले प्रदर्शनमा सेनाका प्रतिष्ठानहरूमाथि भएको आक्रमणबाट आफूलाई टाढा राख्दै आफ्नो पार्टीका कार्यकर्ताहरू संलग्न रहेको अस्वीकार गर्नुभयो । उहाँले हिंसाको स्वतन्त्र अनुसन्धानको माग गर्नुभयो ।

खानले लगाएको आरोपको खण्डन गर्दै आएको सेनाले शनिबार संस्थाविरुद्ध ‘गलत धारणा’ सिर्जना गर्ने प्रयासविरुद्ध चेतावनी दिएको छ ।

यस हप्ता भएको हिंसामा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रहरी र अस्पतालले जनाएका छन् ।

पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तमा सयौं प्रहरी अधिकारी घाइते हुनुका साथै चार हजारभन्दा बढीलाई हिरासतमा लिइएको अधिकारीहरुले बताएका छन् ।

खानका एक वकिलका अनुसार प्रदर्शन सुरु भएयता पीटीआईका कम्तीमा १० जना वरिष्ठ नेतालाई पक्राउ गरिएको छ । रासस/सिन्ह्वा

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्