-नविन अभिलाषी
आधा अनुहार मात्र कुँदेर कालीगण्डकीले
निर्जन बगरमा छोडि हिँडेको कुनै पत्थर जस्तै छु अहिले ।
युगौँदेखि आधा फसेको विरुपाक्ष जस्तै ।
कर्णाली करिडोरमा
ठिङ्ग उभिएको स्याल्तडी भीर जस्तै छु,
नेपाली सेनाले होल खोपिरहेछ र भरिरहेछ बारुद,
र म किस्ता किस्तामा फुटिरहेछु ।
पोथी सुँगाले चाखेर उडेको
वैशाखे अम्बाको जुठो दाना जस्तै ।
युद्धकालमा कुनै बन्दुकधारीले
मन्दिरमा पसेर आधा च्याति छोडेको वेदको किताब जस्तै ।
या
विश्व सुन्दरीले आफ्नो जन्मदिनमा
काटेर डस्टविनमा फालेको केकको टुक्रा जस्तै ।
पाक्दै गरेको जामुनमा
वन डढेलोले झम्टिएपछि निख्खर सुकेको भविष्य जस्तै ।
ओ हो ... आफ्नै चिहानघारीमा उभिएजस्तै ।
नामुद भ्रष्ट ठेकेदारले
खोलामा उठाएर अलपत्र छोडेको पुलको पिलर जस्तै छु अहिले ।
सर्जरी थिएटर भित्र
अङ्ग चिरिएर बेहोस पल्टिरहेको बिरामी जस्तै
र गम्भीर गल्तीपछि स्तब्ध चिकित्सक जस्तै छु ।
विचार कतै छुटेको कविताको क्राफ्ट जस्तै ।
रङ्ग उडेर दाग मात्र बाँकी
कुनै विश्वप्रसिद्ध चित्रकला जस्तै ।
गढिमाईको वधशालामा
काटिएर पनि नछिनिएको गर्धन लिएर उफ्रिरहेको पाडो जस्तै ।