युक्रेनको बखमुत शहरको विनाश सन् १९४५ को हिरोशिमाको जस्तै : राष्ट्रपति जेलेन्स्की

युक्रेनको बखमुत शहरको विनाश सन् १९४५ को हिरोशिमाको जस्तै : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको बखमुत शहरको ‘विनाश’ लाई सन् १९४५ मा अमेरिकी आणविक बमले आक्रमण गरेपछि हिरोशिमामा भएको विनाशसँग तुलना गर्नुभएको छ ।

युद्धपूर्व ७० हजार जनसङ्ख्या भएको बखमुत रूसको आक्रमणको सबैभन्दा लामो र रक्तपातपूर्ण युद्धको दृश्य बनेको छ ।

महिनौँसम्म चलेको भीषण लडाइँको समयमा बखमुतबाट यदाकदा देखाइएका दृश्यहरूमा उक्त स्थानलाई भग्नावशेषको शहर देखाइएको छ ।

जेलेन्स्कीले भन्नुभयो, “हिरोसिमाको फोटोले मलाई बखमुतको सम्झना गराउँछ । त्यहाँ केही पनि जीवित छैन ।”

उहाँले भन्नुभयो, “सबै भवनहरू ध्वस्त भएका छन् । पूर्ण रूपमा विनाश भएका छन् । त्यहाँ मानिसहरू छैनन् अर्थात् केही पनि छैन ।”

जेलेन्स्कीले जापानले हिरोशिमामा गरेको पुनर्निर्माणले आक्रमणमा ध्वस्त भएका युक्रेनी शहर र शहरहरूको पुनर्निर्माण गर्न प्रेरित गरेको बताउनुभयो ।

“अहिले, हिरोशिमाको पुनर्निर्माण भएको छ । शहर राम्रो उदाहरण बनेको छ,” उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, “हामी हाम्रा सबै शहरहरू पुनर्निर्माण गर्ने सपना देख्छौं जुन अहिले भग्नावशेषमा छन् । रूसी आक्रमणपछि धेरै गाउँमा एउटा पनि घर बाँकी छैन ।”

रूसले बखमुतलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेको एक दिनपछि जेलेन्स्कीले यस्तो बताउनुभएको हो । उहाँले स्पष्ट जवाफ नदिइकन रूसी सेना बखमुतमा रहेको तर त्यसलाई कब्जामा नलिएको बताउनुभयो । रासस/एएफपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्