विराटनगर महानगरको लोगो : सबै अटाउन खोज्दा आलोचनाको भार

विराटनगर महानगरको लोगो : सबै अटाउन खोज्दा आलोचनाको भार

विराटनगर । विराटनगर महागरपालिको प्रतीक चिन्ह (लोगो) आफ्नै बनेको छ । महानगरपालिकाले सार्वजानिक सूचना आह्वान गरेर मागेका ढाँचामध्ये नरकुमार श्रेष्ठको लोगो कार्यन्वयनमा ल्याइएको हो ।

महानगरपालिकाले सार्वजानिक सूचना जारी गरेर आम नागरिकसँग लोगोको ढाँचा पठाउन आग्रह गरेको थियो । त्यसमा महानगरपालिकाको ऐतिहासकि, भौगोलिक, प्राकृतिक, सामाजिक, साँस्कृतिक एवं विशिष्ट मौलिक पहिचान झल्कनु पर्ने उल्लेख थियो । सँगै लोगोमा कुनै पनि धार्मिक, जातीय तथा साम्प्रदायिक विभेद झल्कने, सामाजिक सद्भाव खलल पुग्ने तथा नेपालको सार्वभौमिकता, एकता र अखण्डतामा प्रतिकुल असर गर्ने संकेत नगरिएको हुनुपर्ने सूचनामा उल्लेख थियो ।

महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह प्रयोगमा ल्याउने योजना अनुसार उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा चार सदस्यीय लोगो छनौट समिति गठन गरेको थियो । समितिमा वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, कार्यपालिका सदस्य समतलीदेवी विश्वास, आर्टिष्ट विज्ञ अनुराधा थापा र सदस्य सचिवमा प्रशासन प्रमुख अर्जुन थपलिया रहेका थिए । लोगो डिजाइन गर्नेहरुले इमेल वा खामबन्दी गरेर महानगरपालिकामा पठाउनु पर्ने शर्त थियो ।

लोगो छनौट समितिका सदस्य सचिव थपलियाका अनुसार सूचनाका आधारमा १५८ नमूना ढाँचा प्राप्त भएका थिए । त्यसमध्ये चारवटालाई छनौट गरिएको थियो । समितिले कार्यपालिकामा पेश गर्नका लागि तीनवटा उत्कृष्ट लोगो सिफारिस गर्नुपर्ने कार्यदेश पाएको थियो । चारवटा भएपछि विराटनगर महानगरपालिका मेयर नागेश कोइराला समेतको उपस्थितिमा नरकुमार श्रेष्ठ, बिदुर दाहाल र भोलानाथ पौडेलको लोगो छनौटमा परेका थिए । थपलियाका अनुसार उत्कृष्ट तीन लोगो समितिले सिफारिस गरेपछि कार्यपालिकाले श्रेष्ठको लोगोलाई कार्यन्वयनमा ल्याउन अनुमोदन गरेको हो ।

हातले उतारेको लोगोमा राष्ट्रिय झण्डामा अंतिक चन्द्र–सुर्य, विराटनगरलाई चिनाउने रथयात्रा, ऐतिहासिकस्थल विराट दरबार क्षेत्र, प्रजातन्त्रका लागि भएको मजदुर आन्दोलनको बिम्ब, मेडिकल हव, शिक्षाका लागि पुस्तक, औद्योगिक–कृषि क्षेत्र, हवाई मैदानसहितका संकेत राखिएको छ ।

लोगो डिजाइनर नरकुमार श्रेष्ठका अनुसार महानगरपालिकाले दिएको गाईडलाइनमा टेकेर हातले उतारेको लोगो प्रतिस्प्रर्धाका लागि पठाइएको हो । जो देख्दा अलिक भद्दा लागेपनि त्यसलाई कम्प्यूटरमा कोर्दा छरितो हुनेछ । उनले लोगोमा उल्लेखित कतिपय विषयमा कमेन्ट आएपनि त्यसलाई बिम्बात्मक रुपमा मात्रै बुझनुपर्ने बताएका छन् । उनले लोगोमा आकाश र धर्तीको रङ्ग भरिएको बताए । लोगोमा अंकित मन्दिरको संरचना मस्जिद जस्तो भएको कमेन्ट गरेपनि त्यो विराट राजाको प्रतिकात्मक दरबार भएको बताए । ‘कसैले देखेन र कसैले यस्तै थियो भनेर भन्न सक्दैन’ श्रेष्ठले भने–जनकपुरको जानकी मन्दिर गुम्बा शैलीको छ । भारतका कलाकारले त्यसबेला त्यस्तै बनाए । विराट राजाको दरबार पनि महाभारतकालिन समयको थियो, उनले अगाडी थपे–काठमाण्डौंमा अधिकांश मठमन्दिर पेगोडाशैलीमा छन् । त्यहाँ चिनका कलाकारको प्रभाव रहेको इतिहासले दर्शाउने गर्दछ । विराटनगरमा बसेर विराटनगर भित्रैको पृष्ठभूमिलाई लोगोमा उल्लेख गरेर पठाएको श्रेष्ठको भनाई छ । उनले उत्कृष्ट हुन्छ भनेर भन्दा पनि खुल्ला प्रतिस्प्रर्धामा सहभागि हुनका लागि आफ्नो मेहनत लगाएको बताए । यद्यपी महानगरपालिकाले उनले नै उतारेको लोगोलाई वैधानिकता दिएको छ ।

छनौट समिति संयोजक एवं महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले धेरै विषय अँटेको लोगोले प्राथमिकता पाएको बताउँछिन् । उनले विराटनगरलाई चिनाउने धेरै क्षेत्र समेट्न खोज्दा आलोचनाको भार खेप्नु परेको बताइन् । कार्कीले रथयात्रा, बिद्यालय, मेडिकल हव, विराट क्षेत्र, औद्योगिक–कृषि, परिवर्तनको आन्दोलनमा समाहित मजदुरको इतिहासलाई लोगोले बोकेको दावी गरेकी छिन् । कार्कीले छनौटमा कसैसँग प्रभाव र कसैको दवाव भन्दा मौलिकपन प्राथमिकतामा परेको बताइन् । उनले विराटनगरको प्रवेशद्वार राख्न नसक्नुको कारण खुलाउँदै भनिन्–छलेन सडकको सीमामा अहिलेको गेट परेको छ, त्यसलाई भत्काएर नयाँ बनाउनु पर्ने बाध्यता छ । नयाँको डिजाईन अहिले नै तयार भएर पास भईसकेको छैन ।

कार्कीका अनुसार लोगोमा उल्लेख गरिएका चिन्हको विषयमा सम्बन्धित व्यक्तिले व्याख्यासहित डिजाइन पठाउनु पर्ने थियो । डिजाइनसँगै त्यसमा अंकित चिन्हको व्याख्या सहि हुनुपर्ने थियो । अर्को मुख्य विषय कम्प्यूटरबाट डाउनलोड गरिएका डिजिटल ढाँचाहरु भन्दा हातले उतारेको ढाँचा मौलिक देखिएकाले छनौटमा परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्