चेन्नाईले जित्यो आईपीएलको उपाधि

चेन्नाईले जित्यो आईपीएलको उपाधि

वर्षाले प्रभावित खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ ।

योसँगै चेन्नाईले सबैभन्दा धेरै आईपीएलको उपाधि जित्ने टिममा मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी गरेको छ । चेन्नाईले यसअघि मुम्बईको नाममा रहेको पाँच उपाधिको कीर्तिमानसँग बराबरी गरेको हो ।

सोमबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २१४ रनको योगफल खडा गरेको थियो । दोस्रो इनिङको तीन बलको खेल हुँदा वर्षा भएपछि खेल लामो समय रोकिएको थियो । वर्षाका कारण खेल अवरुद्ध बनेपछि चेन्नाईले १५ ओभरमा १७१ रनको बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । जुन चेन्नाईले निर्धारित १५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

चेन्नाईलाई १५औं ओभरमा जितका लागि १३ रनको आवश्यकता थियो । बलिङका लागि गुजरातबाट आएका थिए, मोहित शर्मा । मोहितको सुरुआती चार बलमा चेन्नाईबाट क्रिजमा रहेको शिवम दुवे र जडेजाले तीन रनमात्र जोडेका थिए । तर, जडेजाले मोहितको पाँचौ बलमा छक्का र छैटौं बलमा चौका प्रहार गर्दै चेन्नाईलाई सनसनीपूर्ण जित दिलाएका थिए ।
चेन्नाईको जितमा रवीन्द्र जडेजाले ६ बलमा समान एक चौका र एक छक्कासहित अविजित १५ रन बनाए । दुवे २१ बलमा दुई छक्कासहित ३२ रनमा अविजित रहे । यसबाहेक, चेन्नाईको खातामा डेविड कोन्वेले २५ बलमा चार चौका र दुई छक्कासहित ४७ रन थपेका थिए । अजिन्क्या राहानेले २७, रितुराज गाइकवाडले २६र अम्बती रायडुले १९ रन बनाए ।

गुजरातका मोहित शर्माले तीन विकेट लिए पनि टिमको हार टार्न सकेनन् । नुर अहमेदले दुई विकेट लिए ।

त्यसअघि साइ सुदर्शनको उत्कृष्ट ब्याटिङमा गुजरातले २१४ रनको विशाल योगफल खडा गरेको थियो । गुजरातका सुदर्शनले ४७ बलमा आठ चौका र ६ छक्कासहित ९६ रन बनाए । ओपनर रिद्दिमान साहले ३९ बलमा पाँच चौका र एक छक्कासहित ५४ रन जोडे । सुभमन गिलले ३९ र कप्तान हार्दिक पन्ड्याले २१ रन थपे ।

चेन्नाईका मथिसा पथिरानाले दुई विकेट लिए । दीपक चहर र रवीन्द्र जडेजाले समान एक विकेट लिए ।

चेन्नाईले सन् २०१० मा पहिलो पटक आईपीएलको उपाधि जितेको थियो । यस्तै, सन् २०११ मा दोस्रो पटक, २०१८ मा तेस्रो र २०२१ मा चौथो पटक आईपीएलको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्