इलाम नामाकरणका पछाडि केही किंवदन्तीहरु प्रचलित छन् । छोरा प्राप्तिका लागि माईपोखरीमा यज्ञ गर्न लगाएका राजालाई झुक्याएर रानीले छोरीका लागि यज्ञ गर्न लगाइ छोरी जन्मिए पछि राजाले मलाई छोरी चाहिन्न अर्थात ‘इला मा’ भन्दा यहि कारणले इलाम रहेको पनि भन्ने गरिन्छ ।
तर, सबैभन्दा बिश्वसनिय कारण भने लिम्बु भाषाबाट घुमाउरो बाटो भएको हुँदा इलाम भएकोलाई नै लिन सकिन्छ । लिम्बुवानका समयमा दश राज्य मध्ये एक चारखोल रहेको यस क्षेत्रको सदरमुकाम नागरिगढी रहेको थियो । नागरिगढीबाट पछि सदरमुकाम इलामडाँडामा सारियो । राज्य एकिकरण पछि पनि सदरमुकाम यहि इलामडाँडा नै रहिरह्यो । चार खोला भएको जिल्ला देउमाई, पुवामाई, माई र सिद्धी जोगमाई यो जिल्लामा छन् ।
ईलाम भन्नासाथ हामी त्यहा उत्पादन हुने चियालाइ सम्झिहाल्छौ । ईलाममा चिया खेती हुन थालेको १५० बर्ष भन्दा बढि समय भैसकेको छ । बि. सं. १९२० तिर राणा प्रधानमन्त्री जंगबहादुरलाई चिनिया सम्राटले उपहारमा पठाइ दिएको चियाको बीउ रोप्ने अन्योलता भएको समयमा संयोगले आफ्नै ज्वाँइ त्यसबेलाका ईलामको वडाहाकिम कर्णेल गजराजसिंह थापा जो काम बिशेषले काठमाडौ मै थिए । उनले ईलाममा लगेर उपयुक्त ठाउँमा रोपेर हेरचाह गर्ने भनेपछि जंगबहादुरले सो को प्रबन्ध मिलाइ ईलाममा चिया खेतीको शुभारम्भ गराएका हुन् ।
बि.सं. १९३५ मा इलाममा देश कै पहिलो फ्याक्ट्रीको रुपमा चिया फ्याक्ट्री खुलेको थियो । जो नेपालको पहिलो उद्योग पनि हो । त्यसपछि बल्ल जुद्ध शम्शेरको पालामा नेपालमा अन्य उद्धयोगहरू खुल्न थालेको हो । त्यसै गरी २०३९ मा राजा बिरेन्द्रले यसको वरपरको क्षेत्रलाई चिया क्षेत्र घोषणा गरिदिए ।
इलामलाई पहिले पाँच ‘अ’ को शहर भनिन्थ्यो तर अचेल भने थपिएर आठ ‘अ’ को शहर भएको छ । अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्य छन् ।