-नवीन अभिलाषी
मलाई जानुपर्ने भयो, अचानक ।
यहाँसम्म सँगै आउँदा ठेस लागेका घाउहरु सम्हाल्दै
फर्किनुपर्ने भयो अचानक उहि बाटो ।
मलाई जानुपर्ने भयो ।
नदिले खनेको बगरै बगर भएर,
समाएर हुरीको कान्छी औँला,
चट्याङ्ग परिरहेको यो कालो मध्यरात
मलाई एक्लै एक्लै फर्किनुपर्ने भयो ।
म त रुन्छु भनेको थिए यतै
आफ्नै आसुको मुहान पनि सुकेर गयो – आखैअघि ।
म त दुख्छु भनेको थिए तिमीसँगै
दुखकै दरबार पनि भत्केर गयो ।
म त हिँड्छु भनेको थिएँ पहिरै पहिरो
पहिरोमाथि पनि खसिरह्यो पहिरो
मलाई अब पहिरै भएर खस्नुपर्ने भयो ।
भरिएपछि तिम्रो मनको आँगन
मलाई निस्किनुपर्ने भयो अब सडकमा
बेहुली छोड्न आएको लोकन्ती जस्तो
सम्बन्धको स्मृति मात्रै बोकेर – बाटो लाग्नुपर्ने भयो ।
गुलाव जस्तो तिम्रो रंगीन हाँसो मुन्तिर
म त बाँच्छु भनेको थिए, काँडैको जुनी ।
तर शरदको यो साँझ
अचानक पहेँलो पात जस्तो भएर खस्नुपर्ने भयो ।
आसुको चस्मा लगाएर ।
चक्कुको चप्पल ओछ्याएर ।
मलाई हिँड्नुपर्ने भयो – छोडेर तिम्रा भुवाका हातहरु ।
अचानक अब विदा माग्नुपर्ने भयो ।
यस्तो पनि के जीवन हुन्छ ?
यो जीवन होईन
होईन, यहि नै जीवन हो ।
यस्तै यस्तै भनेर आफैले आफैलाई सम्झाउनुपर्ने भयो ।
प्रेमले पुजा गरेको
आस्थाले सजाएको मानिस नै
आधा बाटोमै लास भएपछि
घाटबाट फर्किएको मलामी जस्तो फर्किनुपर्ने भयो ।
मलाई अब जानुपर्ने भयो ।