आइतबारबाट राजविराजमा सुरु भएको सप्तरी प्रिमियर लिग खेलमा फिर्दोश अन्सारीको अलराउण्ड प्रदर्शनले रुपनी राइडर्सको विजयी यात्रा आरम्भ भएको छ।
सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा १९ रन मात्र खर्चिएका अन्सारीले सर्वाधिक ६१ रन समेत बनाए। प्लेयर अफ द म्याच घोषित अन्सारीले ४९ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
जम्मा ३१ रनमा ३ विकेट गुमाएको अवस्थामा अन्सारी र रोहन बिकले चौंथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै खेल उकासेका थिए। अन्सारीको अलराउण्ड प्रदर्शनका कारण सप्तरी क्रिकेट संघले आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा रुपनी राइडर्सले राजविराज द किंग्सलाई १५ रनले पराजित गरेको हो।
रुपनी राइडर्सले दिएको १५१ रनको लक्ष्य पछ्याएको राजविराज द किंग्सले पुरै २० ओभर ब्याटिंग गरे पनि ८ विकेट क्षतीमा १३५ रन मात्र बटुल्न सक्यो। राजविराज द किंग्सको लागि बिक्रम सोबले सर्वाधिक ३४ रन बनाए। तृतराज दासले ३३ तथा अविषेक कार्कीले २९ रन बनाए पनि जित्न पर्याप्त भएन।
त्यसअघि टस हारेर ब्याटिंग गरेको रुपनीले २० ओभरमा ६ विकेट गुमाई १५० रन बनायो। फिर्दोश अन्सारीले सर्वाधिक ६१, रोहन बिकले ३३ र विकास दासले २० रन बनाए। राजविराजको बलिंगमा बिक्रम सोबले २ विकेट तथा दिपेश सरदार, तृत राज दास र सोहेल खानले १/१ विकेट लिए। प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन्। पहिलो खेल रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स तथा दिउँसोको खेल छिन्नमस्ता लायन्स र बजाज खडक वारियर्स बीच प्रतिस्पर्धा हुनेछ।