एकदिवसिय विश्वकप छनोटको आफ्नो पहिलो खेलमा ओमानले विजयी सुरुवात गरेको छ। समूह ‘बी’ अन्तर्गत भएको खेलमा टेस्ट अनुभव बटुलेको आयरल्यान्ड विरुद्व ११ बल अगाडीनै ओमानले ५ विकेटको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो।
जिम्बाब्वेको बुलवायोमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो। आयरल्यान्डका लागि जर्ज डोक्रेलले ९१ रनको अविजित इनिङ खेल्दा ह्यारि टेक्टरले ५२ रन बनाए। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। लोर्कान टुक्करले २६ रन बनाउँदा पउल स्ट्रलिङले २३ रन तथा गेराथ डेलानीले २० रन बनाए। ओमानका लागि विलाल खान र फयाज बटले समान २-२ विकेट लिएका थिए।
२ सय ८२ रनको लक्ष्य पछ्याएको ओमानले उत्कृष्ट प्रदर्शन गर्दै ११ बल अगाडिनै ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। ओमानका तीन खेलाडी अर्धशतकीय इनिङ खेलेका थिए। ओपनर काश्यप प्रजापतीले सर्वाधिक ७२ रन बनाउँदा अकिब इलियसले ५२ तथा कप्तान जेशन मक्सुदले ५९ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै मोहम्मद नदिम ४६ रनमा अविजित रहँदा आयन खानले २१ तथा सोइब खानले १९ रनको अविजित इनिङ खेल्दै ओमानको जित निश्चित गरेका थिए।