ओपनिङ जोडी निरज यादव र सूर्यांशु कोइरालाले शतकीय साझेदारी गरेपछि नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा थाइल्यान्डलाई विशाल लक्ष्य तेर्स्याएको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाई २ सय ६९ रन बनाएको छ ।
बांगीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा निरज र सूर्यांशुले पहिलो विकेटमा १३ ओभरमा १ सय २६ रन जोड्दै नेपालको विशाल योगफलको आधार बनाएका थिए । निरजले ४३ बलमा ७४ रन बनाए । २१ बलमै अर्धशतक पूरा गरेका उनले कुल ७ चौका र ६ छक्का प्रहार गरे । सुर्यांशुले ५५ बल खेली ३ चौकासहित ४० रन बनाए ।
आशिष लुहार १३ रनमा आउट भए पनि सन्तोष यादव र नरेन भट्टले चौथो विकेटमा ८१ रनको साझेदारी गर्दै नेपालको रनक्रमलाई निरन्तरता दिएका थिए । सन्तोषले ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए ।
नरेन ५३ र प्रतीक पोखरेल १ रन बनाई अविजित रहे । नरेनले ४३ बल खेल्दै ५ चौका प्रहार गरे । अशोक धामी ५, अविशेक तिवारी १४, दीप भुजेल ६ र कृतिक कामत शून्य रनमा आउट भए । नेपाल यो खेल जितेमा मलेसियासँगै सेमिफाइनल पुग्ने छ । थाइल्यान्ड समूह ‘ए’ को पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो ।