सुजता लिम्बू
विराटनगर । कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेसँगै अब बन्ने नयाँ सरकार कसको पोल्टोमा पर्ला भन्ने प्रश्नको हल संघीय राजधानी पुगेर टुंगिएको छ ।
मुख्यमन्त्रीको दौडमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो रहेका थिए । उनीहरुबीच सहमति जुट्न सकस भएपछि थापा र आङ्बो काठमाण्डौ हान्निएका थिए ।
सोही अनुसार सोमबार बालुवाटारमा बसेको गठबन्धनका र्शीष नेताहरुको बैठकले नेपाली काँग्रेसका संसदीय दलको नेता थापालाई मुख्यमन्त्री बनाउने सहमति भएसँगै मुख्यमन्त्रीको विषय टुंगो लागेको छ ।
यता, प्रदेश प्रमुख परशुराम खापुङ्गले असार २१ गते अपराह्न ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गरेका छन् ।
खापुङ्गले नेपालको संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् । सरकार गठनको आव्हानसँगै गठबन्धनको तर्फबाट थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् ।
तर, केन्द्रमा पुगेर मुख्यमन्त्रीको विषय टुंगो लगाए पनि नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा सम्मिलित गठबन्धनसँग प्रष्ट बहुमत नहुँदा राप्रपा नयाँ सरकार गठनका लागि बहुमत पुर्याउने निर्णयाक स्थानमा रहेको छ । कोशी प्रदेशमा चार दल समाहित हुँदा पनि प्रदेशसभामा ४६ जना सांसद पुग्छन् । जुन संख्या सरकार निर्माणका लागि अपुग संख्या हो । बहुमत जुटाउन ४७ आवश्यकता पर्ने हुँदा यतिबेला गठबन्धन दल राप्रपा फकाउने कार्यमा लागिरहेका छन् ।
त्यसो त गठबन्धन दलका नेताहरुले संसदीय अङ्कगणितमा सभामुखलाई संसदीय दलको सदस्य भनेर गणना गर्दा गठबन्धनको पक्षमा सरकारको दाबी पुग्ने जिकिर गर्छन् । तर सभामुखले आफू पदमा आसिन हुनु अगावै पार्टी परित्याग गरिसकेको हुँदा उनी कुनै पनि दलको नहुने र भूमिका विहिन हुने जानकारहरु बताउछन् ।
सभामुखले राजिनामा दिएर भए पनि ४७ पुर्याउने गठबन्धन दलको जिकिर भएपनि यता जेष्ठ सदस्य गठबन्धन दल नेपाली काँग्रेसका गयानन्द मण्डल हुने भएकाले कुनै पनि हालतमा अब बन्ने गठबन्धनको नयाँ सरकारका लागि बहुमत पुग्ने अवस्था देखिदैन ।
यता, राप्रपाका संसदीय दलका नेता एवम् प्रदेश सकारका प्रवक्ता मन्त्री भक्तिप्रसाद सिटौलाले सरकारमा समालेन हुने नहुने भन्ने निर्णय नभएको बताए । समयमा नै निर्णय गर्ने बताउदै उनले २१ गते साँझ ४ बजेसम्म सरकार गठन गर्ने समय भएकाले निर्णय भएपछि जानकारी गराउने बताए ।
गठबन्धनले पहिले आफू निर्णय गरिसकेर आफूहरुको दललाई सहयोग मागेको निर्णय प्रति असन्तुष्टि रहेको समेत बताए ।
‘पहिले उहाँहरुले आफू निर्णय गर्नुभयो, नेपाली काँग्रेस संसदीय दलको नेता मुख्यमन्त्री बन्ने भनेर निर्णय गरेपछि हामीसँग सल्लाह माग्नुभएको हो त्यो निर्णय हामीलाई चित्त नबुझेको हो,’ उनले भने,‘ तर, पनि हामी सल्लाह गरिरहेका छौँ ।’