विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापा आजै नियुक्त हुने भएका छन् । मन्त्रीमण्डल भने भोली निर्माण हुने भएको छ ।
मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने र मन्त्रीहरु क–कसलाई पठाउने भन्ने विषयमा भोलीमात्रै छलफल हुने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका नेताहरुलाई निर्देशन दिएका थिए ।
गठबन्धन दलले राप्रपाको समर्थन प्राप्त नभएपनि थापालाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्दै आज बेलुका ५ बजेभित्र प्रदेश प्रमुख पर्शुराम खापुङकोमा दाबी पेश गर्न लागेको हो ।
कोशी प्रदेशको गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३, सभामुखसहित) एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । शुक्रबार विश्वासको मत नपाएपछि हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको थियो ।