कुदाइ

कुदाइ

-केशव भट्टराई
कुदेको छ धावन मार्गमा
घोड सवार घोडा भएर
अर्जुन दृष्टिले
लक्ष्य भेट्टाउन,
दुर्योधनले जाल थापेको
विजयी सपना बुनेर
गन्तव्यमा पुग्न
जसरी पितृ पुर्खाहरुबाट
आशीर्वाद लिदै
वा श्रापित बन्दै
पुस्ता पुस्तान्तर
युग युगान्तर
वर्षहरूको कुदाइबाट
सभ्यता कोरिएको छ ।

धर्तीको उत्तरदक्षिण
पूर्वपश्चिम
कुरुक्षेत्रमा
वा ट्रोयमा
कुदेको छ
लडेको छ
अस्तित्व पछ्‌याउँदै
वा गुमनाम बन्दै
गीता उपदेशले
कृष्ण सवार भएर ।

मनले कुदाएको
अमूल्य चिज
समात्न खोजेको
उसको महत्वाकांक्षामा
चौकुने जाललाई
यताउता हल्लाउँदै
अन्त्यमा थिग्रेर रहेका
गड्यौला र घुँगी परेको
नियति बनेको छ ।

पुनः नयाँ बिरुवा
मस्तिष्करूपी उर्वर माटोले
सफा हृदयको बारीमा उमारेको छ
संसारलाई साघुरो
कोठामा जन्माएर ।

पुतली आकर्षणको उज्यालो
उडिरहने चरा मनलाई
जता पनि कुद्ने लहरा
झ्याङ्गिने केराको आकाङ्क्षामा ऊ
लोभ र भ्रमको
पासोमा स्वयं
आँखामा आउँने उज्यालो
रङ्गीचङ्गी खेलौनालाई
सुख र सिर्जना
देख्दै भन्दै
आफूलाई पदार्थ बनाएको छ ।

कतै आफैँ लडेर
युद्ध जितेको भ्रम
उसमाथि चढ्ने
भीम र अर्जुनहरूलाई
भएको छ ।

हिरा लिन कुदेको
अनगिन्ती सपनाको पहाड
खोस्रिदा खोस्रिदै
ऊ डुहुरे मुसाहरूसँग
रमाएको प्रारब्ध बनेको छ ।

आकाशै छुने
महत्त्वाकांक्षी कुदाइ
सबैलाई जित्ने युद्ध
कृष्ण छलले
काटिएर बर्बरिकको
यथार्थमा
विलीन हुनुपरेको
दौडमा ऊ अमर भएको छ ।

यथार्थमा
ऊ भित्रै शिखण्डी उभ्याइदिएर
पितामहले युद्धमा
आँखा चिम्लनु परेको
विभत्स तस्बिर
उसले निधारमा झुन्ड्‌याएको छ ।

यहाँ त भक्तिको
उच्चतम् बिन्दुमा
औँला काटिएर
एकलव्यको यथार्थमा
उसले दौड सक्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्