-पुष्पा नेपाल सुवेदी
लाल बहादुरले आफ्नै रगत पसिना बगाएर तराईको एउटा गाउँमा ४ आना जग्गा किन्यो र एउटा सानो झुपडी बनायो।घरैमा टाँसेर एउटा गाई अट्ने गोठ र ३/४वटा बाख्राको लागि खोर पनि बनायो।
स-साना दुईवटा छोराछोरी र श्रीमतीसँग खुशीले जीवन चलाईरहेको थियो ऊ। गाउँकै अगाडि भने मुखियाको ठूलो खाली जमिन थियो। एकदिन मुखिया बाले त्यो जमिन दलाललाई प्लटिङ्को लागि बेचिदिए भन्ने सुनेको थियो,उसले।
केही दिनपछि त्यो दलाल त्यहाँ आएर बाटो बनाउने र गाउँको विकास पनि गर्ने कुरा सुनाएर गयो। सबै खुशी भए।तर गाउँलेको खुशी दुईदिन पनि टिकेन। पर्सीपल्टै त्यो दलालले सरकारी डोजर लिएर आयो र बाटो खन्ने कुरा सुनायो।तर बाटो खन्दा गाउँलेले पनि आधा जमिन दिनुपर्ने भयो।बिचरा लाल बहादुरलाई फसाद पर्यो।चारआना जमिन कति दिने ?कतिमा बस्ने?उसले दलाललाई खुट्टा ढोगेरै अनुनय विनय गर्यो।तर ढुङ्गा जस्तो मन भएको दलालले उसको कुरै सुनेन। अन्त्यमा उसको गाईगोठ र बाख्राको खोर भत्काएर बाटो बनाइयो।
मुस्किलले बस्ने घर जोगियो।घरमै डोजर चल्दा आत्तिदै चिच्याएका छोराछोरी र श्रीमतीलाई सम्हाल्न उसलाई निकै गाह्रो पर्यो।उसले चिनेजानेका लगायत सरकारी मान्छेहरूसँग पनि अनुनय विनय गर्यो तर अँह कसैले उसका कुरा सुनेनन्। गाउँमा उसकै जस्तो नियति भोग्ने अरुपनि थिए।सबैले नुनिलो आँसु पिएर चित्त बुझाए।उसले पनि भगवान मात्र आफ्नो भएको सम्झ्यो।
शिवरात्रीको दिन गाउँकै ठुलो शिव मन्दिरमा ऊ पनि दर्शन गर्न गयो। मन्दिरकै प्राङ्गणमा ठुलो कार्यक्रमको आयोजना गरिएको थियो। दर्शन सकेर लाल बहादुर पनि एक कुनामा गएर बस्यो। कार्यक्रम शुरु हुना साथ उद्घोषकले उही दलाललाई बोलाउँदै भन्यो।"समाजसेवी तथा धर्मात्मा"श्री फलाना ज्युले यस मन्दिरमा रु.पाँच लाख भेटी चढाउनु भएकोले उहाँलाई सम्पूर्ण गाउँबासी मिलेर मन्दिरको तर्फबाट सम्मान गर्दछौं भन्दै, सम्मानपत्र दिँदै दोसल्ला ओढाइदिए।सारा प्राङ्गण समाजसेवीको जयजयकारले गुन्जायमान भयो।लाल बहादुर भने अक्क न बक्क भयो। उसले मन्दिरको मूर्तितिर हेर्दै मनमनै सोच्यो।"कलियुगमा त भगवानले पनि घुस खाँदा रहेछन्"।