-नविन अभिलाषी
ति प्वाँखहरु फेरी कहिल्यै सपनामा आएनन्,
जो छुटेका थिए - यो उडानका क्रममा ।
कुनै आफन्तहरु
कुनै कुनै बेला बिर्सन्छन् आफ्ना हुन,
र झरिदिन्छन् सम्बन्धको पखेटाबाट एक एक गरेर
आज पनि खुलेको छैन आकाश
घामको उज्यालोले देखाएको छैन अनुहार
इन्द्रेणीको रोशन लुकेको साँझमा छु - एक्लै
छु कालो बादलमुनी - तर छैन रोकिएको
जीवनमा हुरी चलेको बेला
आँधीले आकाशमा बाटो छेकेको क्षितिजमा
रोकिन्छु जरुर
र गन्ति गर्छु आफ्नै गल्तीहरुको ।
म
कहिले मन्दिरको गजुरमा सुस्ताएको छु
धुपको धुँवाभित्र छु हराएको,
मस्जिदको मिनारसँगै अग्लिएको छु
अजानमा छु भरेको आवाज मैले पनि
मैले भेटि चढाएको छैन
र छैन भाकल गरेको कुनै देउरालीमा ।
प्रत्येक रुखका हाँगाहरुमा
मैले बसाउन सक्छु आफ्नै आधुनिक शहर
लगाउन सक्छु गुडँ र जन्माउन सक्छु सन्तान
मलाई के देश-के परदेश
छैन पढेको किताब, नमाज र वेदहरु
तर पनि छैन अशिक्षित र हैन अज्ञानी म
मेरो छ आफ्नै संविधान ।
चिवर ओढेर मैले ध्यान गरेको छैन
कसैका आँसुका तलाउमा डुबुल्की छैन मारेको ।
मेरा आफ्नै गीतहरु छन् - यतैकतै चर्चित,
जीवनमा नआउँदा पनि वसन्त
जामुनका रित्ता हाँगामा मैले गाएको छु गीत
जिन्दगी एक अन्जान उडान हो
र यो सबै एक अन्जान अवतरणकै तयारी हो ।
जति नै गरे पनि तयारी
आफ्नै लागि किन्न नसकिने रहेछ कफन
खन्न नभ्याइने रहेछ चिहान
आफैले आफ्नै लागि बोलाउन नसकिने रहेछ मलामी ।