भारतमा पहिरोमा परी तीनको मृत्यु,सोह्र बेपत्ता

भारतमा पहिरोमा परी तीनको मृत्यु,सोह्र बेपत्ता

उत्तरी भारतको हिमालय क्षेत्रमा पहिरोले पसल बगाउँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १६ जना बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् ।

भारतको उत्तराखण्ड राज्यको विपद् व्यवस्थापन निकायले वर्षाका कारण हिन्दू धर्मावलम्बीको लोकप्रिय तीर्थस्थल मार्गमा शनिबार राति ‘ठूलो पहिरो’ खसेको र केही व्यक्तिको हताहती भएको जनाएको छ।

विपद् व्यवस्थापन अधिकारी नन्दनसिंह रजवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पहिरोमा परी पुरिएकाहरूको खोजी तथा उद्धारका क्रममा अहिलेसम्म तीन जनाको शव फेला परेको छ ।”

उहाँले भन्नुभयो, “हराइरहेका भनिएका बाँकी १६ व्यक्तिको खोजीका लागि उद्धार कार्य जारी छ ।”

सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यमहरूमा देखाइएका तस्विरमा पसलको भग्नावशेष भिरालो पहाडमा छरिएर तल नदीसम्म पुगेको देखिएको छ ।

भारतमा जुन महिनामा वार्षिक मनसुन सुरु भएदेखि नै वर्षाको चपेटामा परेको छ र बाढी र पहिरोका कारण दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।

गत महिना पश्चिमी राज्य महाराष्ट्रमा गएको भीषण पहिरोमा परी कम्तीमा २७ जनाको मृत्यु भएको थियो ।

नदी नाला र भूमिगत पानीको पुनःपूर्तिका लागि मनसुनी वर्षा महत्वपूर्ण छ, तर जलप्रलयले पनि हरेक वर्ष व्यापक विनाश निम्त्याउँछ ।

विज्ञहरूका अनुसार जलवायु परिवर्तनले विश्वभरि चरम मौसमी घटनाहरूको सङ्ख्या बढाइरहेको छ, भारतमा बाँध, वन फँडानी र विकास परियोजनाहरूले मानवीय क्षतिलाई बढाइरहेको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्