-लक्ष्मण निरौला
सायद तिमी
समुन्द्रमा मिसिएको
नदि र हिमनदी हौ
जो छुट्याउन एकदमै
कठिन र असजिलो छ !!
सायद तिमी
पृथ्वीको एक बिन्दुबाट
अर्को बिन्दुसम्मको
धेरै लामो बाटो हिड्यौ
र
त कयौ रात बितेपछि मात्र
हावाहुरी झैँ अकस्मात आइपुग्यौ !!
तिम्रो आगमन पश्चात
मंसिर पुषको जाडोमा
सुनौलो घामका किरणहरु झैँ
बिना भर्र्याङ् ,बिना भरोसा
आकाशबाट तल ओर्लेर
जमीन ढाकि रहेको तुसारोसँग
बच्चा लडिबुडी खेले झैँ खेल्न थाल्यो !!
र म आनन्दले
यस्तो उद्ङ्ग भएकी
समस्याले थिचेर
छातीभरि च्याउसरी
उम्रेका घाउ र डोबहरू
हराउदै ,शितल हुदै
गए झैँ लाग्यो
परिस्थितिले डसेका
अनुहारमा पिम्पल झैँ
टासिएका दागहरु
मेटिदै गए झैँ लग्यो !!
तर तिमी
चित्त दुखेका आफन्त झैँ
वा निष्ठुरी परदेशी झैँ
मलाई कतैकेही
भन्दै नभनी
एकपटक झलक्क पनि
हेर्दै नहेरी
एक सुरमा खुरु खुरु हिडिरह्यौ !!
म चाहिँ
क़े भो त ..? ठिकै छ..भन्दै
सहेर र मन बुझाएर बस्न सकिन
र बाध्यताले परदेशीन लागेको
यात्रीहरुलाई झैँ
त्रिभुबन एयरपोर्ट सम्म पुगेर
प्रेमको अंगालोबाट छुटिएका
प्रेमी वा प्रेमिकाहरुको झैँ
रसाएका आँखाहरु तन्काहिरहे !!
तर तिमी चाहिँ
एक क्षण पनि नरोकिदै
एकपटक पनि म तिर नफर्की
टेक अफ भएको प्लेन झैँ
हतारिदै दौडीयौ
र मेरा आँखाबाट
क्रमश: बिलाउदै गयौ !!
अहिले म
हजारौँ युवाहरुले
पासपोर्ट र भिजा कुरे झैँ
भेट्ने दिन कुर्दै
तल्लो चोक ,मथिल्लो चोक
चाहरि रहेको छु,
ओहो रदोहोर गरि रहेको छु !!
तर तिमी चाहिँ
हराएर कहिल्यै नभेटिने
कुनै अनमोल वस्तु झैँ
बिल्कुलै बेपत्ता भएकी छौँ !!