-देवराज तामाङ
यो वर्षातको बिहानीमा आँसुहरुले
झरिरहेको पानीसँगै म लेख्न सक्छु
विछोडको एउटा सुखद कविता
तर म आँसु कवि हैन
मेरो प्रेम
राधाकृष्णको झैँ त्याग र समर्पणमा थिएन
रोमियो र जुलिएटको जस्तो लभ एट फर्स्ट साइट थिएन
टाइटनिकमा अस्ताएको ज्याक र रोजको जस्तो हैन
मेरो प्रेम सरल सिधा र स्पष्ट थियो
सृष्टिको सबैभन्दा सुन्दर संगित दिव्यनाद झैँ
मैले उनको आवाजलाई प्रेम गरेको थिए
सिद्धार्थ गौतम बुद्धको चाल सुने झैँ
मैले उनको चरणको चाललाई प्रेम गरेको थिए
माँ कालीको उग्ररुप आँखा अगाडि देखिए झैँ
मैले उनको रिस र आवेगलाई प्रेम गरेको थिए
आफ्नो सुख दुःख सबै भुलेर
मैले उनको संघर्ष र दु:खलाई प्रेम गरेको थिए
उनी र उनी बाहेक कसैलाई नगरेको त्यो प्रेम
उनी र उनीमा मात्रै सिमित थिएन
मैले उनले मलाई गर्ने घृणालाई पनि प्रेम गरेको थिए
मैले उनको अरुप्रतिको करुणालाई पनि प्रेम गरेको थिए
मैले उनको जीवन र जगत प्रतिको अस्पष्ट धारणालाई पनि प्रेम गरेको थिए !
मेरो प्रेम सायद एउटा
दि फल्ट इन आवर स्टार जस्तै कुनै एउटा फिक्सन हो
कुनै बाटो हो जसको कुनै गन्तव्य थिएन
कुनै तिर्थयात्रा हो जसमा कुनै मोक्ष मिलेन
कुनै वियोगान्त नाटक हो जुन कहिल्यै थिएटरमा चलेन
मेरो प्रेम सायद एउटा कविता हो जुन पूरा लेखिएन ।