सुजता लिम्बु
विराटनगर । थाहा छैन विनय (नाम परिवर्तन), धरान–भेडेटारको सडकमा कति दौडियो । परिवारको जिम्मेवारीले खाँदिएको काँध र डोकोमा लाहुरे सपनाले भरिएको ढुंगा बोकेर भेडेटारको उकालोमा कुर्कच्चा कति खियो । एकै ठाँउ जम्मा गर्ने हो भने सायद त्यो समय बगाएको पसिना नदिको भेल हुँदो हो । त्यसो त साँझ बेलैमा ओछ्यान पर्नु र मोबाइलको अलरामसँगै ब्यूँझिनु उनको दैनिकी झैँ बनेको थियो ।
झिसमिसमा धरानको भानु चौक छिचोल्दै कुदेर भेडेटार पुग्नु र पुनः ट्रेनिङ सेन्टर फर्किनु आफूले पछ्याएको सपनाको एक भाग पुरा भए झैँ अनुभुती हुन्थ्यो । तर, थप सफलताको शिखर चुम्नु उनको लागि त्यति सहज पनि थिएन । मध्यम वर्गिय परिवारमा हुर्किएको उनी भोजपुरबाट लाहुरे बन्ने सपना बोकेर धरान झरेका थिए । विकास र समृद्धिको सपनाले धेरै टाढा रहेको भोजपुरको उकाली, ओरालीहरुमा बितेको उनको बाल्यकाल उमेर बढेसँगै सपनाको चाङ पनि उत्तिकै बढ्दै गयो ।
‘द्धन्द्धकाल पछि भोजपुर पुरै अन्धकार नै भयो, विकास र समृद्धिले निक्कै पछि परेको म जन्मेको जिल्ला शिक्षा र अवसरको खोजिका लागि धनकुटा वा संखुवासभा जानुपर्ने हुन्थ्यो,’ उनी भन्छन्, ‘बाल्यकाल दःुख, सुख हुर्किदै गयो, दुखै दुःखले पढाई पनि सकियो त्यसपछि लाहुरे बन्ने सपना बोकेर धरान झरे ।’
गफैगफमा फेरी उनी हाँस्दै थप्छन्, ‘। पहिलो पटक धरानको भानुचोकमा पाइला टेक्दा त स्वर्ग यस्तै हुँदो हो जस्तै लाग्यो ।’ त्यही स्वर्ग अनुभुती गरेको शहरको प्रत्येक सडकमा ठाडो शिर लगाएर गमक्क परेका ठूलाठूला घरहरुले उनको सपनाका चाङ थपिदिए झै अनुभुती हुन थालेको थियो । खित्का छोडेर हाँस्दै सुनाउछन् ,‘धरानको बिल्डिङ घर देख्दा सडकमा उभिएर धेरै पटक मेरो पनि यस्तै घर धरानमा नै हुन्छ र गाँउबाट बुवाआमालाई यतै सार्छु भन्ने कल्पनामा डुबेको छु, अहिले सम्झिदा साँच्चै हाँसो लाग्छ हौ ।’ त्यसो त उनको सपनाको बाटोहरुले गन्तव्य नपछ्याएको पनि होइन । तर, दुईपटकसम्म व्रिटिस आर्मीमा नाम निकाल्न नसकेपछि नेपाल आर्मीमा आवेदन दिएका उनी त्यहा पनि सफलता हासिल गर्न सकेनन् । निक्कै संघर्षपछि नेपाल प्रहरीमा नाम निकाल्न सफल भए । चार वर्षदेखि नेपाल प्रहरीमा अवद्ध रहेका उनी आफूले अंगालेको पेसामा पनि भविष्य खासै उज्यालो नभएको सुनाउछन् ।
कुनै समय देश र जनताको हितका लागि काम गर्ने हुटहुटीले नेपाल प्रहरी रोजेका उनी अहिले जागिर छोडेर कोरीया जाने सपना बुनेका छन् । बिहानको समय भाषा पढेर दिनभर डियुटीमा खटिने उनी नेपालको जागिरले एक्लो ज्यान पनि थेग्न धौधौ पर्ने उनी सुनाउछन् । ‘सुरुवातका दिनमा त पल्टने भइयो नेपाल सरकारको जागिरे भइयो जस्तो लाग्थ्यो नि तर संगठनभित्र छिरेपछि वास्तविकतामा जिउन निक्कै सकस हुनेरहेछ,’ उनी भन्छन्,‘हाम्रो प्रोत्साहनका लागि नेपाल सरकारले पनि त खासै केही गर्दिएको छैन, प्रहरीले त आदेशमा आएको काम गर्दा समेत आलोचना भोग्नुपर्छ अनि कसरी यही पेसामा अल्झेर बस्छन् ?’
यता, अजय राई पनि ६ वर्षदेखि नेपाल प्रहरीमा छन् । त्यसो उनी पनि जागिर छोडेर कोरीय पलायन हुने उदेश्यले विहानको समय भाषा सिक्दैछन् । नेपालको जागिरले परिवारको भरथेग नै मुस्किल परेको बताउने उनी सन्तान र परिवारको उज्जवल भविष्यका लागि भएपनि नेपाल छोड्नुपर्ने बाध्यता आइलागेको उनी सुनाउछन् ।
‘सुरुमा रहरले जागिर आइयो, एक्लो हुँदा त ठिकै थियो, अहिले विवाह गरेको छु श्रीमती बच्चाको जिम्मेवारी छँदैछ, आमाबुवा हुनुहुन्छ,’ उनी भन्छन्,‘आखिर पछि पनि जागिरको उमेर अवधि पुरा भएपछि उही विदेश नै जानु पर्ने हो बरु उमेरमै राम्रो ठाँउ जाउ भन्ने लागेर हो ।’
नेपाल प्रहरीकै रोहन भुजेल पनि आफूले अंगालेको पेसादेखि आजित भएको सुनाउछन् । कुनै समय रहरले अंगालेको पेसा अहिले बाध्यता बनेको छ ।
‘पहिले प्रहरीमा भर्ती हुन रहर लाग्थ्यो, अहिले त आजित भए, फ्रस्टेड भए ,’ उनी भन्छ्न,‘यो संगठनमा जब पसे तब थाहा पाए यहाँको अवस्था यो जागिरले मुस्किलले एक्लो जीवन त धान्न सकिन्छ तर परिवार भएपछि गाह्रो छ ।’
उल्लेखित कथाका पात्रहरु त प्रतिनिधि मात्रै हुन् । उनीहरु जस्ता नेपालको जागिरमा भविष्य कम देख्ने र जागिर छोड्ने मनासयमा बसेका थुप्रै प्रहरी जवानहरु रहर र बाध्यतका दोसाधमा उभिएका छन् । कोही कथा भन्न रुचाए कोही गुमनाम नै रहन मन गरे । यसरी बीचमै जागिर छाड्नु र विकल्पमा अन्य देश रोज्नुको मुख्य कारण सेवा गरेवापत पाउने सेवा–सुविधाले परिवार धान्नै मुस्किल हुनु र पेन्सन पकाउन २० वर्षसम्म कुनुपर्ने देखिएको उनीहरुको भनाई छ ।