विराटनगर । अबिरल वर्षाका कारण बाढी तथा पहिरोले कोशी प्रदेशका विभिन्न स्थानमा सडक अवरोध भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मुख्य तथा सहायक मार्गहरुमा वर्षाका कारण सडक अवरोध हुदाँ सवारी आवागमनमा समस्या भएको हो ।
ताप्लेजुङको मैवाखोलामा आएको बाढीका कारण मेरिङदिन गाउँपालिका–३ स्थितमा दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने अन्दाजी ७ मिटर बाटो बाढीले बगाउँदा दुवै तर्फको सवारी आवामगन बन्द भएको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्त बराह भित्री सडक खण्डमा सडकमा पहिरो झरी बाटो अबरोध भएको छ । ईलाम नगरपालिका–४ अधिकारी चोकमा सडकमा पहिरो झरी बाटो अवरोध भएको, तेह्रथुमको छथर गाउँपालिका र सिधुवा शुक्रवारे सडकखण्डको देविथानमा सडक माथीबाट पहिरो खस्दा बाटो अवरोध भएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–८ खोक्से खोला स्थित मेची राजमार्गमा पहिरो खस्दा अवरोध भएको छ । त्यहाँ अहिले प्रहरी टोलीले खुलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । यसैगरी झापाको अर्जुनधारा नगरपालिका–७ खुदुवावारी–शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनीको पंखामा बाढीले क्षति पुर्याउँदा पुल जिर्ण अबस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली खटि गई स्थानीय निकायको सहयोगमा बाँध बाध्ने कार्य भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ ।