एसियाका एसोसिएट्स सदस्य राष्ट्रका लागि निकै महत्त्वपूर्ण मानिएको ‘एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिता’ शुक्रबार नेपालले आफ्नो पहिलो खेल खेल्दैछ ।
नेपाल र भारत ‘ए’बीचको खेल कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार, १५:४५ बजे शुरू हुनेछ ।
‘लिस्ट ए’ मान्यताप्राप्त एकदिवसीय ढाँचाको यो प्रतियोगितामा एसोसिएट्स सदस्यले आफूभन्दा बलिया टेस्ट राष्ट्रसँग प्रतिस्पर्धाको गर्ने अवसर पाउँछन् ।
नेपाल र भारत प्रतियोगिताको समूह ‘बी’मा रहेका छन् । उक्त समूहमा पाकिस्तान शाहिन्स र संयुक्त अरब इमिरेट्स (यूएई) पनि छन् ।
यो समूहमा तुलनात्मक रुपमा बलिया टोलीहरू छन् । पाकिस्तान शाहिन्स त प्रतियोगिताको साविक विजेता पनि हो । समूह ‘ए’मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङ्कङ छन् ।
प्रतियोगितामा टेस्ट राष्ट्र भारत ए, पाकिस्तान (शाहिन्स), श्रीलंका, बंगलादेश र अफगानिस्तानको ‘ए’ टोली सहभागी हुनेछन् भने नेपाल, यूएई र हङकङको सिनियर टोलीले भाग लिनेछन् ।