विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आफूले विश्वासको मत पाउने दाबी गरेका छन् ।
विराटनगरस्थित प्रदेशसभाको बैठक पछि शुक्रबार संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले विश्वासको मत पाउने दाबी गरेका हुन् ।
‘विश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनसँग ४७ संख्या छ रहेको बताउदै उनले भने "बहुमत ४७ नै हो मैले विश्वासको मत पाउँछु, मैले मागेको समयमा एक दिन पछि सारिएको विषय सल्लाहमै भएको हो ।’
प्रतिपक्षी दलहरुले सरकारले विश्वासको वातावरण बनाएन भनेर भनिरहेको विषयमा संचारकर्मीले सोधेको प्रश्नमा उनले विश्वासको मत लिने दिनसम्ममा आफूले छलफल गर्ने बताए । ‘विश्वासको मत लिने वातावरण बनाउन कै लागि भदौ ४ गतेसम्मको समय लिएको हुँ,’ थापाले भने ।
उनले उपसभामुखले राजीनामा दिएर अप्ठ्यारो परिस्थिति सिर्जना हुने अवस्था भए त्यसबेला अर्को विकल्पमा जाने पनि बताए । तर, त्यस्तो अवस्था सिर्जना नहुने समेत उनको भनाई थियो ।
प्रदेशभित्रको राजनीतिलाई स्थिरता बनाएर जाने भन्ने आफू हरुको कुरा रहेको बताए। उनले भने" यदि त्यो गर्न सकेनौं भने प्रदेशका माननीयहरुको आयु घट्ने देखिन्छ । त्यसकारण प्रदेशको स्थिरता र विकासका लागि सहमति, सहकार्य गरेर नै अगाडि बढ्नुपर्छ । दलहरुबीचको एकता नै अहिलेको आवश्यकता हो ।’
बजेटको प्रसंगमा उनले प्रदेशमा बजेट शून्यतामा नजाने बताए । ‘बजेट होलिडे हुने अवस्थाबारे सांसदले चिन्ता गर्नु स्वभाविक रहेको बताउदै उनले १० गतेभित्र प्रतिस्थापन विधेयक ल्याउनु पर्ने बताए । " हामी दलहरुबीचमा छलफल भईरहेको छ । प्रतिपक्षी दलहरुसहित छलफल गरेर हामी अगाडि बढ्छौं । उनले भने" त्यो अवस्था आउन हामी दिँदैनौं ।’