-वसुन्धरा चौहान "सुनिता"
मनभित्र अदृश्य शब्दको भकारी हुनेरहेछ
बिसाउने ठाउँ नहुँदा मन भारी हुनेरहेछ
यो छाती पीडाले भत्भती पोल्दा
मुटु सितल पार्ने कहाँ छहारी हुनेरहेछ
नारीको अस्तित्व रहन्न शृङ्गार नरहदा
पात झरेपछि कुरुप फूलबारी हुनेरहेछ
बाहिरी रुपरङ्ग हेरेर आफ्नै ठानियो
नकाब उतार्दा मान्छे बन्दुकधारी हुनेरहेछ
तिमी सबैथोक मानी परिवार त्यागेपछि बुझे
आमा बाको काख चौतारी हुनेरहेछ