पहिचान पक्षधरको नेम्वाङ विश्लेषण : व्यक्तिगतरुपमा सुवास पहिचान विरोधी होइनन्

पहिचान पक्षधरको नेम्वाङ विश्लेषण : व्यक्तिगतरुपमा सुवास पहिचान विरोधी होइनन्

सुजता लिम्बु
विराटनगर । इलाम जिल्लाको सुन्तलाबारीमा २००९ सालमा जन्मेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ ७१ वर्षको उमेरमा हृदयघाका कारण सधैंका लागि अस्ताए । उनको निधनसँगै यतिबेला देशले कुशल राजनीतिज्ञ गुमाएको छ, इलामले अभिभावक गुमाएको छ, याक्थुङ समुदाय अर्थात लिम्बू समुदायले बौद्धिक नेता गुमाएको छ । विद्यार्थी कालदेखि राजनीतिमा होमिएका नेम्वाङ ०६४ मा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भइ संविधान सभाको अध्यक्षको रुपमा समेत भूमिका निर्वाह गरेका थिए । नेपालको नयाँ संविधान बनाउन दुई पटकसम्म नेतृत्व गरिसकेका नेम्वाङ आफ्नै समुदायको पक्षमा आवाज नउठाएको भन्दै विवादमा परेका थिए ।

उनी जीवित हुँदा होस् या उनको मृत्युपछि पनि आफ्नै समुदायका केही व्यक्तिहरुले पहिचान विरोधीको संज्ञा दिदंै अपानजनक अभिव्यक्तिसहित सामाजिक सञ्जालमा श्रद्धान्जली दिँदै दिन भ्याएका छन् । तर, नेम्वाङ याक्थुङ समुदायको छाता संगठन किरात याक्थुङ चुम्लुङका संस्थापन समेत रहेको संघीय लिम्बूवान पार्टी नेपालका सर्वमानिय नेता बीर नेम्वाङ बताउँछन् । यता, किराँत याक्थुङ चुम्लुङ अमेरिकाका उपाध्यक्ष विवश बनेमले याक्थुङ (लिम्बू) समुदायमा सुवास नेम्बाङहरु एकसय वर्षमा बल्ल एकपटक मात्रै जन्मने प्रतिक्रिया दिन्छन् । नेम्वाङ लिम्बू समुदायमा बौद्धिक साथै राष्ट्रिय राजनीतिमा उच्च स्थानमा रहन सफल नेताको रुपमा पनि चिनिन्छन् । सुवास नेम्वाङ पहिचान विरोधी नै हुन त ? भन्ने प्रश्नमा संचारकर्मी एवम् साहित्यकार देवेन्द्र खापुङले नेम्वाङ पहिचान विरोधी नभएको बताउँछन् ।
‘उनी पहिचन विरोधी हुँदै होइनन्, पहिचान विरोधी भएको भए उहाँले कहाँ, कहाँ लिम्बू विरोधी कुरा गरेका थिए ? उनले प्रश्न गर्दै भने,‘ झन उहाँले फाल्गुनन्दलाई राष्ट्रिय विभूति बनाएका हुन्, धर्मनिरपेक्षताको वकालत गरेका हुन् ।’

पञ्चायतकालमा किराँत याक्थुङ चुम्लुङ जन्माउनेमा सुवास नेम्वाङ पनि एकजना रहेको बताउदै वीर नेम्वाङले नेपालको संविधान लेख्दा धर्म निरपेक्षता लिपिवद्ध बनाउने उनको प्रमुख भूमिका रहेको स्मरण गरे ।
त्यसमा हिन्दुहरुले सुवाचन्द्र नेम्वाङको विरोध गरेको उनले बताए । लिम्बूवान स्वयत्तताको पक्षमा नेम्वाङ उभिएका थिए । तर, संघीय लोकत्रान्त्रिक राष्ट्रिय मञ्च र संघीय राज्य परिषदले घरिघरि अपमानित गर्ने गरेको र ढुंगामुढा गर्ने गरेकाले पनि लिम्बूवान स्वयत्तता विरोधी देखिएको उनले बताए ।

‘सुवास नेम्वाङ लिम्बुवान स्वायत्तताको पक्षमा थिए, तर घरिघरि आक्रमण गर्ने गरेको त्यसपछि पछिल्लो समयमा लिम्बूवान स्वायत्तता विरोधी नै देखिएको हो,’उनले भने,‘यसको कारक तत्व यहि हो, पहिले लिम्बुवान पक्षमा थियो अपमानित गरेर लखेट्न थालेपछि लिम्बूवानको विपक्षमा देखियो ।’
नेम्वाङ राष्ट्रिय राजनीतिमा अहम भूमिका खेल्न सक्ने व्यक्तित्व रहेको बताउँदै उनले अहिलेको नेपालको आन्तरिक परिवेशमा रक्षकको रुपमा उभिएको बताए । ‘मान्छेको आफ्नो स्वतन्त्रा हुन्छ स्वतन्त्र विचारमा राजनीति गरेका छन् वितेपछि सतोश्राप गरेर फाइदा छैन ।’ उनले भने,‘त्यस्तो गर्नु उचित होइन मानविय संवेदना हुन्छ पहिचानवादी नेताकार्यकर्तामा मानववीय संवेदना देखिएन, त्यो हुन हुँदैन ।’
जनता समाजवादी पार्टी नेपालका केन्द्रय सदस्य तथा लिम्बूवान राष्ट्रि समितिका अध्यक्ष खगेन्द्र माखिमको बुझाईमा नेम्वाङ शालिन, भद्र र मृदुभाषी रहेको बताउँछन् ।

‘म उहाँको प्रशंसक हुँ, यो मानेमा सम्मान गर्छु व्यक्तिगतरुपमा नराम्रो छैन ।’ उनले भने,‘ पहिचनका मुद्दाको सन्दर्भमा उहाँलाई पार्टीले बाध्य बनाएको होला तर कुनै पनि मुद्दामा उहाँ नकारात्मक भने होइन ।’ पहिचानको आन्दोलनलाई नेम्वाङले विरोध नगरेको बताउँदै उनले आन्दोलन संयमपूर्वक गरौँ हिँसात्मक नगरौँ भन्ने सुझाव दिएको स्मरण गरे ।
‘उहाँ, लिम्बूवानको विपक्षमा हुनुहुन्न पार्टी भएपछि पार्टीको धारणा अनुसार बढ्ने भयो, पार्टीगतरुपमा पहिचान र लिम्बुवान स्विकार हुँदैन थियो’ उनले भने,‘तर, व्यक्तिगतरुपमा पहिचानको पक्षमा सकारात्क नै हुनुहुन्थ्यो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्