‘बा’को आँसुलाई देखेर पनि नदेखेझैँ गर्न बाध्य बने

<span class='c1'>‘बा’को आँसुलाई देखेर पनि</span> <span class='c2'>नदेखेझैँ गर्न बाध्य बने</span>

सुजता लिम्बु
‘बुबा, सयजना शिक्षकभन्दा बढी हुनुहुन्छ’ मैले यो लाइन कुनै पुस्तकमा पढेकी थिए । व्यवहारमा भोगेको र अध्ययन गरेको सिकाई त्यो पुस्तकभन्दा कैयौँ गुणा ठूलो पुस्तक मेरा आफ्ना बा लाग्छन् । आज म तिनै सिकाईका सिंगो पुस्तक मेरा बुबालाई सम्झन चाहें ।
म बुबाकी प्यारी नै थिए क्यार । आमाले कुट्न झम्टिदा आमालाई नै झम्टिनु हुन्थ्यो । बुबा अफिसको कामले कतै टाढा जानुहुँदा मलाई ज्वरो आउथ्यो । आमाले ढोका छेवैमा राखेर साँझको समय पानी र तितेपातीले छम्किएर मेरो सातो बोलाई दिनुहन्थ्यो ।
सायद बाआमाको ममता र आस्था पनि होला । आमाको घरेलु उपचारले भोलिपल्टदेखि तगडा भएको सम्झन लायक किस्साका थुप्रै थाकहरु छन् । संखुवासभाको सदरमुकाम खाँदबारीको प्राकृतिक सुन्दरताको पृष्ठभूमीमा मेरो र भाईको जन्मभयो ।

त्यहीको माटो हावापानीको स्पर्षसँगै उमेरका खुड्कीलाहरुले विस्तारै भ¥याङ चढ्दै गयो । खाँदबारीसँग मेरो बुबाको ४० सालदेखिको सम्बन्ध छ । त्यसपछि जनकपुर चुरोट कारखानासँग नुनको साइनो छ । अर्थात मेरो बुवा जनकपुर चुरोट कारखानामा लामो समयसम्म काम गरेर अहिले कार्यालयको कामबाट विश्राम लिनु भएको छ ।
संखुवासभामा शाखा कार्यालय भएकाले बुबा र हामी दिदीभाईको खाँदबारीसँगको जन्म र कर्मसँगको नाता छ । संघर्षको मैदानमा एक्लै यात्रा गर्न निस्किएका मेरो बुबाको त्यो काँधमा सन्तान र कार्यालयको जिम्मेवारी थियो । तर पनि त्यो बोझले बुबा कहिल्यै थाकेको देखिन ।
चाउरिएको गाला, चिम्सो आँखा भित्र बुबाका धेरै पिडाहरु लुकेका हुन्थे । तर, कहिल्यै हामीलाई व्यक्त गर्नु हुन्न थियो । मेरो बुबा असाध्यै साधारण जीवनशैली जिउन रुचाउने मान्छे । उनले कहिल्यै महँगो कपडा र जुत्ताले आफ्ना शरीर र खुट्टालाई ओत दिन रुचाएनन् ।
चरचर फुटेको पाइतालामा त्यो समय २० रुपैँयामा पाउने फित्ते चप्पल लगाएर कार्यालयको कामले कहिले भोजपुरको दिङ्ला त कहिले संखुवासभाको बाह्रबिसे धाउँथे । काँधमा काम र कार्यालयको भारी, थाप्लोमा सन्तानको जिम्मेवारी । यो बोझले कहिल्यै नथाक्ने मेरो बुबालाई सन्तानको मायाले थकाएको महशुस हुन्थ्यो ।

मैले मेरा बुबालाई लुकीलुकी रोएको धेरै पटक देखेकी थिए । तर, आँसु पुछ्ने हिम्मत जुटाउन सक्दिन थिएँ । किनकी म रुँदै गरेको मन्छेलाई फकाउन जान्दिन । आँसुमा धेरै ओजन हुन्छ, एकथोपा आँसु खसाल्दा गहकिलो पिडाका भारीले विश्राम लिन्छ ।
यही सोचले पनि होला सायद, त्यो समय मैले बाउको आँखाको आँसु पुछ्न सकिन । लुकेर रोएकाले पनि मैले बाउको आँसुलाई देखेर पनि नदेखेझैँ गर्न बाध्य बने होला ।
आफू अभावमा बाँचेर, हामी दुई सन्तानलाई सुखको अनुभुती गराउन जीवनमा आउने हरेक परीक्षा दिएका उनले कुनै कुनै परीक्षामा उत्तम अंक ल्याउन सmल बनेनन् होला । तर, कहिल्यै महसुश गराएनन् । भोक लुकाउन सक्ने उनको त्यो स्वभावलाई आज भोली स्मरण गर्छु ।
भोकले पेट छाम्दै देव्रेपट्टिको एक कान एक हातले थुनेर खाजा खान घरैमा आउदा मेरो बाउ के साह्रो लोभी जस्तो लाग्थ्यो । मैले त्यो समय नजानेर धेरै पटक भने पनि तपाईलाई थाहा छ बुबा ? के लोभ गर्नुहुन्छ ? खाजा त बाहिर खाँदा हुन्छ त । तर, मेरा भनाईलाई हाँसेर टार्नुहुन्थ्यो नि ।
कहिलेकाहीँ प्रतिउत्तरमा मुस्कानसहित तिम्रो सन्तान भए पछि थाहा हुन्छ, भन्नुहुन्थ्यो । हो, रहेछ बुबा सन्तानको माया र भविष्यका लागि भोक, रहर धेरै कुराको त्याग गर्नुपर्ने रहेछ । बल्ल थाहा पाए मैले । जब मेरा दुई सन्तान भए । जस्तोसुकै समस्यामा पनि चिम्चो आँखाका डिलमा आँसुका दाना लुकाउँदै, मन्द मुस्कान लिएर जीवनका आरोह, अवरोह पार गरेका उनी कहिल्यै कृत्रिम दुनियाँमा जिउन रुचाएनन् ।

टुकीको धिपधिपे प्रकाशमा चँुडिएको चप्पल गाँसेर थप महिना दिन लगाएर हिँडडुल गर्थे मेरा बा । मेरो बाउको सबै स्वभाव प्रशंसनीय नहोलान् । तीमध्ये ‘चुडिएर, गाँसेको चप्पलले पनि गन्तव्यमा पु¥याउछ’ भन्ने भनाई र उनले जिउने गरेको साधारण जीवनशैलीको म अझैसम्म सम्झिन्छु ।
उनका ती भनाईहरु चुँडिएका चप्पलले गाँस्ने टुकीको मधुर धुँवा र धिपधिप बलेको बत्तीको प्रकाशझैँ मेरा मानसपटलमा सम्झनाका क्यानभास बनेको छ । उनको त्यही स्वभाव र भनाईले पनि होला मलाई कृतिम र देखावटी भन्दा पनि सत्यता र साधारण जीवनशैली जिउन रुचाउँछु ।

मेरो बाउले हाम्रो लागि के गरे ? कति सम्पति जोडिदिए ? भन्ने प्रश्न तेस्र्याउन चाहन्न । तर बुबाले मेरो जीवनलाई सार्थकता बनाउन उनले के शिक्षा दिन सके भन्ने कुरालाई महत्वपूर्ण ठान्छु ।
उनकै ती भनाईले पनि होला आज संघर्षको मैदानमा एक्लो यात्री बनेर यात्रा गरिरहेकी छु । यो बनावटी, देखावटी दुनियाँमा साधारण जीवन जिउन जानेकी छु । त्यसैले तिमी मेरो जीवनमा सिकाइको एउटा सिंगो पुस्तक हौ बाउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्