आमाको माया

आमाको माया

-अम्बिका अधिकारी
पहिलो बच्चा सानै उमेरमा स्तनमा दुधका धाराहरू बग्दा बग्दै बित्यो । आशाको दीप निभ्यो । आमाको मन खिन्न भयो । अरू कसैले दिएको सान्त्वना अर्ती उपदेश र ढाडसले केही काम गरेन । आँखाबाट बरर बरर आँसुका थोपाहरू बग्न रोकिएनन् ।

वरपर गाउँ छिमेकमा देखिएका बालबालिका प्रति अत्यन्त लगाव बढ्न थाल्यो । जहाँ जसको बच्चा देखें पनि खेलाउन चलाउन दुध चुसाउन मन लाग्थ्यो । कारणवश कसैका बालबालिकाहरू बिरामी भए पनि उनीमाथि बिगार गरेको आरोप लाग्थ्यो । बिचरी आमा सवैको टोकसो खान बाध्य हुनुहुन्थ्यो । आँसुसङ्गै यी सम्पूर्ण अवगाल पिउनुहुन्थ्यो ।

एकाएक पुनः आमाको महिनावारी रोकियो । आशाको आँकुरा पलाउन थाल्यो । मनमनमा विभिन्न देवी देवताको भाकल हुन थाल्यो । आमाको खानपानमा विशेष ध्यान रह्यो । गाउँका बुढी माउहरूको अर्ती उपदेशको मनैबाट मनन गरेर पालन गर्न थालियो ।

क्रमशः दिन हप्ता महिना बित्दै गए । रङ्गी विरङ्गी सपनाहरू देखिन थाले । अर्काका बच्चाहरू चलाएर, खेलाएर शान्त हुने मन अब आफ्नै पेट सुम्सुम्याउन रमाउन थाल्यो । अब याे लक्षणले पक्कै छोरा जन्मन्छ, बुढी आमाहरूको बोलीले आमाको मन प्रफुल्ल हुन्थ्यो । आमाको मन दान धर्मतिर बढ्न थाल्यो । मन्दिर मठमा आमाको बाक्लो उपस्थिति हुन थाल्यो ।

फागुन महिनाको सङ्क्रान्तिको दिन बिहीवार परेको थियो । त्यही दिन श्रीपञ्चमी तिथि परेको थियो । घर छेउको बाटोबाट विद्यालय जाने बालबालिकाको लर्को चलेको थियो । आमाको मन सुख उल्लासले भरीपूर्ण थियो ।

दिउँसो मन्ध्यान्ह पछि आमाको तल्लो पेट दुख्न थाल्यो, पीडा विस्तारै बढ्दै जान थाले । छिमेकका सासु बज्यैहरू आएर ढाढस दिन थाल्नुभयो । घण्टा, दुई घण्टा, तीन घण्टा बित्यो, बेथाले कराप्दै जान थाल्यो । छेउमा बस्नुभएका पाका आमाहरूले सान्त्वनाका शब्दहरू निकाल्नुहुन्थ्यो । बेथाको तापमा पाइएको सान्त्वनाका शब्दहरूले औषधिको काम गरे जस्तै भयोे ।
एक्कासी जमीनमा बच्चा खस्यो। च्याहाँ च्याहाँको आवाजले वातावरण रमाइलो भयोे । स्यावास! बहादुर छोरी पुरुषार्थी पुत्र जन्मायो, सासु आमाले भन्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्