ईटहरीबाट १५ लाख भन्दाबढी नक्कली नोटसहित दुई जना पक्राउ

ईटहरीबाट १५ लाख भन्दाबढी नक्कली नोटसहित दुई जना पक्राउ

विराटनगर । ईटहरीबाट १५ लाख भन्दाबढी नक्कली नोटसहित प्रहरीले २ जना युवालाई पक्राउ गरेको छ ।

सुनसरी प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका दुवैजनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा संखुवासभाको पाँचपखन नगरपालिका ५ घर भएका विवेक राई र संखुवासभाको मकालु नगरपालिका ६ बस्ने अजय राई रहेका छन् । उनीहरूको साथबाट प्रहरीले १५ लाख ८७ हजार नक्कली नोट बरामद गरेको इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

‘नक्कली नोटको कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा हामीले बिहीबार साँझ इटहरीको मुख्य बजार क्षेत्रबाटै पक्राउ गरेका हौँ,’ डीएसपी कार्कीले भने, ‘पक्राउ परेकाहरूमाथि हामीले आवश्यक अनुसन्धान सुरु गरेका छौँ ।’

उनले दुवैजनालाई जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए । घटनामा संलग्नहरूको गिरोह नै रहेका कारण उनीहरुको पनि खोजी कार्य भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नक्कली नोटको कारोबार गर्नेहरूले काठमाडौँमै छाप्ने गरेको खुलेको छ । पछिल्लो समय सुनसरीसहित कोसी प्रदेशका विभिन्न सहरमा नक्कली नोटको कारोबार गर्नेहरूको संख्या बढ्दो रहेकाले प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्