- दुर्गाप्रसाद खरेल
नेपाली समाज युगौँदेखि ढोंग र पाखण्डको ठुलो भारीमुनि किचिएर समृद्धि र विकासको बाटो पर्गेल्न सकिरहेको छैन । नेपाली समाज उही पछौटेपन, द्वन्द्व र वर्गहरूबिच ठुलो खाडल लिएर चलिरहेको छ । वैचारिक दरिद्रता, परम्परागत र रुढिवादी ढङ्ग आजसम्म कायमै छ । नेपाली समाज आफ्नो स्वभाव र चरित्रमा यस्तै कमी र दोषहरूलाई लिएर विकास र समृद्धिको सपना देखिरहेको छ । समाज तथा राजनीतिमा झुट ढोंग, पाखण्डलाई साथमा लिएर नेपाली समाजले प्रगति पथमा अघि बढ्न कति सम्भव छ!
समाजमा व्यापक धार्मिक, जातीय तथा राजनैतिक कुसंस्कार, विसङ्गति, द्वन्द्व र पछौटेपन छ । ढोंगी र पाखण्डी पण्डितकै कारणले राजनीति फोहोरी खेलमा परिणत भएको छ ।राजनीतिमा भएको कुसंस्कार हट्न सकेको छैन, प्रगति र विकासको बाटो पहिल्याएर अघि बढ्न सकेको छैन । विडम्बना यो छ कि नेपाली समाज यस्ता ढोंगी र पाखण्डीहरूलाई चिन्न सक्दैन, र चिन्न पनि चाहँदैन । ढोंगीहरूको बोलीमा एउटा कुरा र व्यवहारमा अर्को रूप देख्न सकेको छैन । किनकि उनीहरूले ढोंगलाई वाककलाले सजाएर आफ्नो पक्षमा परिस्थितिलाई मोड्न सिपालु छन्, गलतलाई पनि सत्यजस्तोे भाष्य बनाएर मानिसहरूलाई भ्रमित पार्न सक्दछन् ।
ढोंग र पाखण्डका बहुआयामिक प्रभावबाट नेपाली समाज आक्रान्त छ । आम नागरिक चमत्कारमा विश्वास गर्दछनु र यस्तै ढोंगी पण्डितहरूका अघि झुक्दछन् । यसरी नै समाजमा कुसंस्कारकरूले जरा गाड्न पुग्दछ । पण्डित भनिएकाकरू नै निरपेक्ष सत्यबाट विमुख भई जब व्यक्तिगत स्वार्थ र आग्रहका भरमा कल्पित व्याख्या दिन थाल्छन् तब ढोंग र पाखण्ड झन मौलाएर पुरै देश र सामाजिक जीवन विकास र प्रगतिको विरुद्ध जान थाल्दछ । यही प्रवृत्तिले गर्दा नेपाली समाजमा विभेद र छुवाछुतको अवस्था अझै चलिरहेको छ । पश्चिमका जिल्लाहरूमा छाउपडी प्रथाका बारेमा तिनीहरू चुँइक्क बोल्दैनन् । अझै पनि विकटका गाउँहरूमा जातीय विभेदको समस्या उत्तिकै छ । धर्मका नाममा, भूत भविष्य बताउने नाममा, धनधान्यको यन्त्र दिने नाममा, विभिन्न बहानामा जताततै मान्छे ठगिइरहेका छन्, ती पण्डितहरू असहाय र दुःखीहरूको सेवा गर्दैनन्, सकेसम्म आफैँ सोहोर्छन् । यस्ता स्वार्थीहरू समाजमा भएका धार्मिक कुसंस्कारहरूका बारेमा बोल्दैनन् । आकर्षक पहिरन र आवरणले शोभित जटावाल धार्मिक पण्डितहरू राजनीतिलाई धारेहात लगाएर भ्रष्ट र लुटेरा भएको आरोप लगाउँछन् । उल्लेखनीय कुरा त उनीहरूले समाजलाई जस्तो सिकाए समाज त्यस्तै चलिरहेको छ । उनीहरू नै पहिलाको राजनैतिक व्यवस्थामा कुन शास्त्र पढेर हो समाजमा छुत र अछुतको व्याख्या गर्दै कथित ‘शूद्र र नारी’लाई अपवित्र घोषणा गरेर तिनलाई पढ्न, लेख्नबाट वञ्चित गर्थे । अब जब राजनीतिले कोल्टे फे¥यो, तिनै पण्डित अहिले कुन शास्त्र पढेर हो त्यस्तो विभेदलाई ‘पाप’ भनिदिन थाले । कहाँ के भनिदिँदा खुसीसाथ दान–दक्षिणा पाइन्छ भन्ने मात्र तिनको चासो हो । मानिसका विभिन्न क्रियाकलापहरू बारेमा समेत तिनकोे मापदण्ड र व्याख्या विवादित छ । मांसाहारीका बिचमा पुगे उनीहरू बलि प्रथा र पौराणिक देवीको माहात्म्य र पूजा विधि व्याख्या गर्दछन् भने शाकाहारी भएका ठाउँमा पुगेपछि अहिंसाको रटान दिन्छन्, मद्भागवत् र उपनिषदका श्लोककरू निकाल्छन् । धेरै विषयहरूमा पण्डित पण्डितकै (शास्त्र शास्त्रकै) मत बाझिने गर्दछ । यही स्वार्थप्रेरित मत र व्याख्याले हिन्दु धर्मलाई ढोंगी चरित्र प्रदान गरेको छ । यो एउटा उदाहरण मात्र हो, यस्ता अनेकौँ उदाहरणहरू छन् जो यस लेखमा प्रस्तुत गर्न सम्भव छैन ।
यस्तै विकृति र ढोंगले नेपाली समाजमा शिक्षा र चेतनाको अङ्कुर फुटने अवसर नै नपाई तिनका हातको नियन्त्रणमा गयो र अझसम्म मुक्त हुन सकेको छैन । विगतमा सामाजिक रूपान्तरणका लागि राज्यतर्फबाट नै निषेध थियो । जब राजनीतिक परिवर्तनले केही स्वतन्त्रता प्राप्त भयो त्यस पछि पनि विकृत राजनीतिले नेपाली आम नागरिकको चेतनास्तर र शिक्षामा खास प्रगति हुन नसकेको परिणामस्वरूप अझै पनि नेपाली वैचारिक तथा चेतना स्तर तिनै ढोंगीहरूको नियन्त्रणमा नै रहेको कुरा विचारणीय छ । भिन्न शास्त्रहरूले आपसमा बाझिएका तर्कहरूबाट धर्मावलम्बीहरूलाई विभाजित गरेका छन् । यही कारणले आम जनता आफू आफूमा लडिरहेका छन् । उचित र अनुचित, सही र गलत छुट्याउन नसकेपछि नागरिकहरू यस्तैका पछि लागेर तिनका हरेक स्वार्थ पूरा गर्छन् र आफू शोषित भइरहेका छन् । यस्ता पण्डितहरू यौन अपराध देखि लिएर ठगीका कार्यबाट अछुतो रहेका छैनन् । यी वर्गका मानिसको प्रवृत्ति भने एउटै हुन्छ चाहे त्यो युवा होस् कि वयस्क, पुरानो होस् वा नयाँ । विचारणीय कुरा के छ भने उनीहरू अरुलाई पाप र पुण्यको व्याख्या त गर्छन् तर लाग्छ तिनीहरूलाई पाप लाग्दैन । मानौँ तिनलाई पापबाट छुट छ ।
ढोंगको यो बहुरङ्गी अवस्थाले प्रगतिको उल्टो बाटोमा हिँडाउँछ । देशमा अराजकता फैलिन्छ । समाजमा अनावश्यक धार्मिक तथा वर्गीय द्वन्द्व सिर्जना हुन्छ । यस्तो किसिमको अवस्था हामी देख्दै र भौग्दै आइरहेका छौँ । जब राजनीति कमाउ पेशा बन्दछ, तब राज्य नै अनैतिक र स्वेच्छाचारी बन्दछ । राजनीतिक पण्डित ढोंगी भए प्राकृतिक र सार्वभौम विधि र पद्धतिको नाश हुन्छ, सुशासन र समृद्धिको बाटो तर्फ राज्य जान सक्दैन । राजनीतिमा इमान्दारी रहँदैन, देश र जनताको अवस्थाले छुँदैन, आम नागरिकको दुरवस्था र परिस्थितिको पुकार सुनिदैँन, राजनीतिमा कलह, स्वेच्छाचारिता, स्वार्थ र भ्रष्टाचार मौलाउँछ । यसरी ढोंगी प्रवृत्तिले नेपाली समाज विभाजित, झुट र पाखण्डपूर्ण भई दुर्भाग्यको सिकार हुन पुगेको छ । जब जीवन यापन र जीविकाका सबै पक्षहरू अविश्वसनीय र भरोसालायक रहँदैनन् जनतामा डरलाग्दो निराशा छाउँछ ।
नेपाली समाज तथा राजनीतिक वृत्तमा चलाइएका यस्ता विभिन्न खाले ढोंगका रूपहरू र पाखण्डको नालिबेली लगाएर साध्य नै छैन । विशेष गरी ढोंगीहरू कृत्रिम तर्क दिएर पन्छिने गर्दछन् । ढोंगले गाँजेको समाजमा सत्य, तर्क र मापदण्डको कुनै स्थान हुँदैन । राज्यको सुरक्षा, प्रगति र विकास जस्ता अहम् र निरपेक्ष सवालको समेत पर्वाह नगर्नु, सम्बद्ध सबै पक्षहरू एकमत नहुनु, राज्यका अङ्गहरूमाथि हस्तक्षेप गर्नु, शक्तिको दुरूपयोग गर्नुको दुष्परिणाम त हामीले देखिरहेका छाँै । यहीकारण त्यहाँ कलह हुन्छ, सबैका आ–आफ्ना बनावटी सत्य हुन्छन् । यो सबै हामी जनताको सोझोपना, बुझाइमा कमी र दास मानसिकताले गर्दा हुन्छ । हाम्रो यही कमजोरीले गर्दा जसले हामीलाई पल पल शोषण गरेर ढोंगीहरूले अकण्टक राज चलाउन सफल भएका हुन् ।
जब देशमा लोकतान्तिक भनिएका शक्तिकरू चरम अलोकतान्त्रिक व्यवहार गरेर समाजमा अराजकता फैलाइरहेका हुन्छन् तिनीहरूले आफ्नो पतनको खाल्डो पनि आफँै खनिरहेका हुन्छन् । यसका साथै जनतामा चरम नैराश्य पैदा भई नयाँ शक्तिको खोजी गर्न थाल्दछन् । अर्कातिर वामशक्तिकरू जो जनतामा केही रुपान्तरणको काम गरेर विश्वास पैदा गरेर राजनीतिमा हुन्छन् तिनीहरूको समेत सिद्धान्त र व्यवहारमा तालमेल हुन छोड्छ तब ढोंगको नमुना बन्छ, सिद्धान्तको धुलो उड्छ । तिनको भनाइ पनि बनावटी लाग्न थाल्दछ । निर्लज्जताको सीमा नाघेर जब आफूलाई जनवादी विचारको नेता भनेर दाबी गर्नेहरू कमिसन, भ्रष्टाचार र तस्करीको जालो फैलाएर अकुत धन आर्जन गर्छन् तब धनवादमा फेरिएको जनवाद एक फगत ढोंग साबित हुन्छ । जनतालाई समृद्ध बनाउन गरेको प्रतिबद्धताको दुश्मन आफै हुन थालेपछि जनतामाथि कुठाराघात हुन्छ, तब पाखण्डको चरम नमुना बनेर राजनैतिक नायकहरू जनताको नजरमा खलनायक बनेर देखा पर्दछन् ।
यस देशमा अरु पनि ढोंगी छन् जो गलत व्याख्या गरेर जनतालाई गुमराहमा राख्छन् र विवाद पैदा गरिरहन्छन् । बुद्धिजीवी नामका ती पण्डितहरूको व्याख्या विभिन्न रङ्गका हुन्छन् । ती पाखण्डीहरू समाजमा कु पण्डित्याइँ गरेर राजनीतिक पण्डितको आग्रह अनुसार समाजलाई बिथोलिरहेका हुन्छन् । घटनाहरूलाई विभिन्न तरिकाले व्याख्या गरेर बङ्ग्याएर समाजमा अन्योल सिर्जना गर्दछन् । आम जनता यस्ता कुतर्कबाजका भिन्न भिन्न व्याख्यामा कुन झुठ र कुन सत्य पर्गेल्न सक्दैनन् । तिनले आफ्नो बुद्धिजीवीको अनुहार पछाडिबाट समाजमा झुटो भाष्य र व्याख्या फैलाउन व्यस्त हुन्छन् । जनताले तिनको भाष्यलाई ग्रहण गरेर विचार निर्माण गर्ने भएकाले तिनका व्याख्याले अन्ततः जनतालाई दिग्भ्रमित र विभाजित बनाई अन्योल अन्योलमा आपसमा भिड्नेसम्म बनाउँछ । यस्ता पाखण्डीले समाजमा जातीय, सांस्कृतिक तथा धार्मिक सद्भाव भड्काई अन्ततः द्वन्द्व फैलाई समाजमा विभाजनको रेखा कोर्छन् ।
यो ढोंगी चरित्र र पाखण्डी व्यवहारको साम्राज्य निकै मजबुत रहेको हुनाले नेपाली जनताले अब यो चरित्र भत्काउन अध्ययन, ज्ञान र चेतनामा आफूलाई अब्बल साबित गर्नपर्छ । नेपाली समाजको परिदृश्य चरम निराशामा भुङ्रिएको अवस्थालाई ख्याल गरेर त्यसैलाई लक्ष्य राखेर यस्ता प्रवृत्तिको भण्डाफोर हाम्रो रुढ मानसिकताबाटै प्रारम्भ गनर््ुपर्छ । हाम्रो कोमल आस्थामा रजाइँ गर्ने पल्किएका ती पाखण्डी र धूर्तहरूको यो राज ध्वस्त पार्न आजैदेखि हाम्रो चेतनास्तर पुष्ट पार्नु पर्छ । हामीलाई स्वार्थको लोभ देखाएर राज गर्ने दिग्भ्रमित पार्ने व्याख्याहरुको अन्तर्य खोतल्न अघि सर्नु पर्छ । विभिन्न शक्तिहरुको प्रभावविन्दुहरु चिन्न सक्नुपर्छ । सही र गलतको पहिचान गरेर सहीलाई साथ दिनुपर्छ । हामीले लडेर ल्याएको पद्धतिलाई सदुपयोग गर्नु पर्दछ । राज्यका नियम र पद्धतिहरूको ज्ञान प्राप्त गर्नुपर्छ । हामीसँग मिठो बोलेर आकर्षण गर्नेहरूको चरित्र र आचरणको विश्लेषण गर्नुपर्छ । जनताको मनबाट ढोंगीहरूले खडा गरेको कुचक्रलाई भत्काएर प्रगतिको राष्ट्रिय मूलधारमा आउन भूमिका खेल्नु अपरिहार्य देखिन्छ ।