विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुने भएको हो ।
शुक्रबारदेखि जारी रहेको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धाको मैदानमा छन् ।ढकाल र खतिवडा दुवैजना मोरङका हुन् ।
यस्तै उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ ।
सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।
दुई उपसचिवका लागि संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलबर्षा राजवंशी र मोरङका खेम नेपालीको उम्मेद्वारी परेको छ । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।