विराटनगरमा कृषिव्यापार–प्रवद्र्धन रणनीति छलफल : उत्पादन बढाउनुपर्नेमा जोड

विराटनगरमा कृषिव्यापार–प्रवद्र्धन रणनीति छलफल : उत्पादन बढाउनुपर्नेमा जोड

विराटनगर । कृषि उत्पादनमा आधारित वस्तु तथा सेवा उपलब्ध नहुँदासम्म व्यापार तथा औद्योगिक वातावरण सहजीकरणको प्रयास बिफल हुने विराटनगरमा आयोजित एक छलफल कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भएको कोशी प्रदेशको कृषिव्यापार–प्रवर्द्धन रणनीतिसम्बन्धी छलफल कार्यक्रममा वक्ताहरुले कृषि क्षेत्रको उत्पादन बृद्धि नहुँदासम्म अर्थतन्त्रमा खोजिएको सुधारको संभावना कम रहेको बताएका हुन् ।

महासंघको कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यापारयोग्य वस्तु तथा सेवा उपलब्ध नभएसम्म व्यापार सहजीकरणको प्रयासले अर्थ नराख्ने बताएका छन् । व्यापार सन्तुलनमा कृषि क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै कृषिजन्य वस्तुको उत्पादन र उत्पादनको मूल्य शृङ्खला बढाउन प्रतिस्पर्धी क्षमताको विकास गर्नुपर्नेमा राउतको जोड थियो ।
महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले कृषि क्षेत्रलाई अघि बढाउन सरकार अप्रिय निर्णय लिन पनि तयार हुनुपर्ने बताए । बोहराले कृषि उपजको आयातका कारणले विभिन्‍न क्षेत्रले अहिले सहजताको अनुभव गरे पनि यसलाई सन्तोषको विषय मान्‍नु नहुने बताउँदै भविष्यमा आउन सक्ने संभावित जोखिम समयमै बुझ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश लगानी प्राधिकरण बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। सरोज कोइराला, उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल र सहज परियोजनाका परामर्शदाता रामचन्द्र बस्ताकोटीले कृषिउपजको मूल्य शृङ्खलाका लागि बालीको पहिचान गरेर कार्ययोजना बनाउनुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले तराईका जिल्लामा भूमिगत पानीको स्रोत सुक्दै गएको विषयमा अध्ययन आवश्यक भएको बताएका थिए । तराईका जिल्लामा भूमिगत पानीको स्रोत नै सुक्न थालेको विषयलाई समयमै ध्यान दिनका लागि सरकारीस्तरबाट यसको अध्ययन आवश्यक रहेको बताइएको हो ।
महतोले किसानलाई अघि बढाउन र व्यावसायिक रूपमा उत्पादनक्षेत्र विस्तार गर्न आवश्यक रहेको बताएका छन् । कृषिको विकासका लागि रणनीति बनाउनुपर्ने कुरामा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्