सुजता लिम्बू
विराटनगर । कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न मिलेर जानुपर्ने दलका नेताहरुले बताएका छन् ।
बुधबार सुरु प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै दलका नेताहरुले यस्तो बताएका हुन् । संविधानको धारा १६८ को ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियूक्त भएका हिक्मतकुमार कार्कीले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् ।
तर, उनले तत्कालै विश्वासको मत पाउने अवस्था छैन । विश्वासको मत नपाए सोही धाराको उपधारा ५ अनुसार सरकार गठन हुनेछ । यसरी गठन भएको सरकारले विश्वासको मत नपाए मध्यावधि निर्वाचन हुनेछ । तर दलहरु अहिले नै मध्यवधीमा जानका भने तयार छैनन्। के भन्छन् दलका नेताहरु ?
उद्धव थापा
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अहिले मध्यावधि जान सक्ने अवस्था नरहेको बताएका छन्।
धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्दा दलहरूले मिलेर जानुपर्ने उनले बताए ।
प्रदेशसभामा दलहरु म्युजिकल चेयरको खेलमा व्यस्त भएजस्तो देखिएको उनले बताउदै उनले प्रदेशको नाम राख्न सफल भएको बाँकी समय म्युजिकल चेयर खेल्नमा ब्यस्त भएको बताए ।
इन्द्रबहादुर आङ्बो
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दलहरु मिलेर मात्रै अहिलेको अवस्थाबाट निकास निस्कने बताए । प्राप्त जनादेशलाई प्रयोग गर्दै आउँदा यहासम्म आइपुगेको बताउदै उनले यो प्रदेशसभा संकटमा जान नहुने बताए । उनले भने,‘प्रदेशसभा अफ्ठ्यारोमा नजाओस्, सबैको साँझा चाहाना छ तर हामी बीचमा त्यो खालको समझदारी बनेन् ।’ संविधानले जे व्यवस्था गरेको छ, त्यो व्यवस्थाबाट कोही पनि भाग्न नमिल्ने उनको भनाई थियो ।
सबैले ठूलो छाती बनाएर अघि बढ्नु पर्नेमा जोड दिँदै उनले जिम्मेवार ढंगले अघि बढ्ने हो भने प्रदेशलाई साझा ढंगबाट निकाश दिन सक्ने उनको भनाई थियो ।
राजेन्द्र कुमार राई
नेकपा एकिकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्रकुमार राईले संसदको भूमिकाका विषयमा सरकारको कामको सन्धर्वमा मिल्न सक्ने जति मिलेर जानुपर्नेमा जोड दिए । उनले सरकार गठनकै विषयमा जात्रा गरिरहेका समेत बताए ।
रेवतीरमण भण्डारी
यता, नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशको संकट टार्नका लागि मिलेर अघि बढ्नुपर्ने बताए । कोशी प्रदेशमा दलहरुले नयाँ ढंगको सहमतिका निम्ती आधार तयार गर्नुपर्ने बाध्यतालाई सबैले बुझ्नुपर्ने बताउदै उनले भने,‘ संघिय सरकारका लागि निर्माण भएको गठबन्धनको जस्ताको तस्तै अंकगणित भएको भए फरक कुरा हुन्थ्यो, यहाँको फरक अंकगणित प्रति एमाले पनि गम्भीर छ ।’
भक्ति सिटौला
प्रदेश सरकारको फेरबदलले प्रदेशको औचित्यमाथि नै प्रश्न उठ्न थालेको राप्रपा प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले बताए । उनले अहिलेको समस्याबाट निकासका लागि मिलेर जानुको विकल्प नभएको बताए । उनले दलहरु सहकार्य गरेर अघि नबढे प्रदेशको विकास निर्माण रोकिने बताए ।‘अब बसौं छलफल गरौं र निकाश दिन लाग्नुपर्छ,’ उलने भने,‘ राजनीतिक ढंगबाट निकास दिनुपर्छ।’