-निर्मला देवी तिम्सिना 'कान्छी'
राम्रो चीज सबैलाई मन पर्छ । मेरो पढाई राम्रै भएकोले सरहरुले खुब माया गर्नु हुन्थ्यो । साथीहरु पनि नोट सार्न सकिन्छ भनेर माया गर्थे । म भन्दा जान्ने साथीले पनि माया गर्दथे तर केही नजान्ने अन्तिम बेन्चहरुले अलि रिस गर्दथे किनकि उनीहरूले जति कोसिस गरे पनि मेरो स्थान लिन सक्दैनन् थिए । केही नहुनेहरुसंग नै डाह बढी हुन्छ यो सत्य हो ।
निस्कलङक,खोट नभएको, निर्मल पवित्रता भित्रको पवित्रा मेरो नाम थियो । दसौं कक्षामा अध्ययनरत विद्यार्थी पवित्रालाई नचिन्ने सायदै विद्यालयमा कमै मात्र थिए होला । घरको काम र आफ्नो पढाई दुवैमा कडा परिश्रमले कसैलाई प्रेरणा मिलेको थियो भने कसैलाई इर्श्या र डाह मिलेको थियो। अरु विषयको राम्रो स्व अध्ययन भए पनि एस एल सी मा राम्रो अङ्क ल्याउनको लागि गणित र अङ्ग्रेजी विषयमा स्व अध्ययनले नपुग्ने भएर साथीको घरमा बसेका थियौं । हाम्रो घर बाट एक घण्टा माथि साथीको घर थियो । त्यहीं नजिकैको एकजना सरसँग ट्युसन पढ्न उमा रिना र म उमाकै घरमा बस्थ्यौँ। बिहान सबेरै उठ्ने ,पढ्ने,ट्युसन जाने,पकाउने खाने विद्यालय जाने विद्यालयबाट फर्किएपछि खाजा खाने ट्युसन जाने आएर पकाउने खाने र गृह कार्य गरेर छोटो समय सुत्ने हाम्रो दिनचर्या भएको थियो ।
सधैँ झैं हाँसी खुसी हामी विद्यालयबाट कोठामा आयौँ । त्यो दिन परिस्थिति बदलिएको रहेछ । मेरा दीर्घकालीन खुसीहरू एकै छिनमा नष्ट भए त्यो पनि दीर्घकालीन समयको लागि । उमाको बुबालाई म दाइ भन्थेँ। उहाँले ठूलो पोको बाहिर राखिदिनु भएको रहेछ । हामीले पुग्ना साथै यो के को पोको हो भनेर सद्यौँ। वहाँले कम्मरमा हात लगाएर भन्नु भयो - "पवित्रेको समान ! पवित्रे तँ अहिले यसै समयमा घर छोडेर निस्कीहाल ! तेरो मती बिग्रेछ ! तँबाट हामीले निक्कै ठुलो आशा राखेका थियौं अब तँ अपवित्र अछुत भएकी छस् भित्र पस्ने चेष्टा पनि नगर ! तँ सँग हाम्रा छोरी हिँड्न पनि सरम हुने भयो।आजबाट तेरो साथमा कुनै साथी हिड्ने छैनन् ।आदि इत्यादि ..."
गालिकै सुरमा उहाँले सबै प्रस्ट पारिसक्नु भएको थियो । कुरा मंसिरको थियो । रजिष्ट्रेशन फारम भर्नको लागि पासपोर्ट आकारको फोटा चाहिएको थियो । गाउँमा फोटा खिच्ने कुनै स्टुडियो नभएर जिल्लामा रहेको स्टुडियोमा केही साथीहरुसँग पुगेका थियौँ । त्यहाँ पुगे पछि पासपोर्ट साइजको फोटो खिचियो । जसरी विद्यार्थी चिन्नको लागि फारममा फोटा चाहिएको थियो, लाग्यो हामीलाई पनि साथी सम्झन फोटा काम लाग्छ । त्यसैले एक जना दलित केटा साथीको अनुरोधमा मैले वहाँसँग फोटा खिचेकी थिए । मलाई के थाह फोटाले पनि सम्बन्धको अनेक अर्थ लाग्छ भनेर ।
कसैको छेउमा उभिँदा सहबासको दोष लाग्ने हो भने बासँग उभिएँ ,दाजुसँग उभिएँ, भाइसँग उभिएँ ,छिमेकीसँग उभिएँ ,सरसँग उभिएँ धेरै लोग्ने मान्छेसँग उभिएकी थिएँ । किन ति साथीसँग उभिँदा सहबासको तीतो दुर्गन्ध लिएर त्यो फोटा सार्वजनिक भयो ? नछोइ उभिएको आकृतिमा के थियो त्यस्तो कुकृत्य काम ? अपमानित तुच्छ शब्दले मुटुमा भाला रोपे झैं भयो । मैले निर्दोषी स्पष्टीकरणले धेरै अनुरोध गरें तर दाइले कत्ति पनि बुझ्नु भएन । गोबर सोहोर्दै गरेकी भाउजुसँग गुहार माग्दै हात जोड़ें भाउजुले रुदै भन्नु भयो -"हेर नानी गल्ती तेरो छैन होला । म पत्याउँछु तैंले त्यसो गर्न सक्दिनस तर के गरौं तँ यहाँ बसिस भने हामीलाई मार्छन् जा नानी घर । गइहाल रात पर्यो । "
भाउजुबाट पनि यस्तो जवाफ पाए पछि म दौडेर सर भएको ठाउँमा गएँ। सरले त झन् गालीको वर्षा नै गराउनु भयो उसै पनि सरले मलाई अनेक बहानामा गाली गर्न पछि पर्नुहुन्न थियो । झन् ठूलो निउ पाउनु भएको थियो । गाली नगर्ने कुरै भएन । उहाँले अबदेखि मलाई ट्युसन पढाउन नसक्ने कुरा पनि बताउनुभयो । त्यसपछि म असीमित आँसुको भेलसँगै नजिकै दीदी भिनाजुको घरमा गएँ। दीदी भिनाजुले गाली त गर्नु भएन तर अविश्वास भने जरूर गर्नु भएकै हो ।अहिले तँ घर जा भन्नु भयो । मान्छेले चाह्यो भने भगवानलाई भूत र भूतलाई भगवान बनाउँदो रहेछ । सानो त्रुटीले म निसाहारा भएर रुँदै कोठामा आएँ । उमा र रीनालाई पिलिक्क हेरेँ उनीहरू नबोली शिर भुइँमा निहुर्याइरहेका थिए । मैले गर्दा उनीहरूको पनि प्यारो साथ छुटेको थियो । विनाकारण गाली पाएका थिए । मलाई कोठा र ट्युसन दुवै ठाउँबाट निकालिएको थियो । साँझ परेपछि जनावरले त बास पाउँछ मैले कतै कहिँ बास पाइनँ । म पोको बोकेर घर हिँडे। साँझ झ्यापै परेको थियो । न कुनै राँको बालेर हिँड्न पाएँ न कुनै साथी नै थिए । जङ्गल को बाटो अंध्यारोमा एक्लै घर गएँ । अभागीलाई जनावरले पनि खाँने रहेनछ । म घर पुगें।
घरमाथि कुलोमा पुगेर यसो घरतिर हेर्दा घरको दलानमा मान्छेको भिड थियो । सबैले मान सम्मान गरेका मेरा बालाई दाजुभाइहरुले अपमानित शब्दले प्रहार गरिरहेका थिए । छोराछोरीको कारण बा -आमाको शिर झुक्नु निक्कै लाज मर्दों हुने रहेछ। दुःख सुखमा आफन्त चाहिन्छ भन्थे आफन्तले त सुखमा डाह गर्ने र दुःखमा सिध्याउने योजना बनाउँदा रहेछन्। अलिकति चुक्नु मात्र पर्दो रहेछ फुटाएर तहसनहस पार्दा रहेछन् । घाउ लाग्नु मात्र पर्दो रहेछ त्यहीँ नुन चुक दल्दा रहेछन् । लड्नु मात्र पर्ने रहेछ त्यहीँ गाड्न चिहान खन्दा रहेछन ।त्यो दृश्य देखे पछि घरमा नगएर अन्तै कतै जान पाए हुने या मर्न पाए हुने जस्तो भएँ। न कहिँ जान सक्थेँ न मर्न नै।डराउँदै घर गएँ।
करेसाबाट दलानमा टेक्ने बितिकै आमाले आँगनको दाउरो टिपेर दुई चार दाउरा पिट्नु भयो। जति भित्री आत्मा दुखेको थियो त्यति आमाको कुटाइले दुखेन उभिरहें । आमाले धित मरुन्जेल पिट्नु भयो ।त्यस पछि हरेक व्यक्तिले शब्द शब्दले पिटे। लठ्ठीको पिटाई भन्दा शब्दको पिटाई निक्कै कसिलो हुने रहेछ । शब्दले नै बढी दुख्यो । बा मौन हुनुहुन्थ्यो । मसँग बोल्दै बोल्नु भएन । मलाई हेर्दा पनि हेर्नु भएन । मैले बालाई हेरेकी थिएँ । बाको शिर झुकेको थियो । मैले गर्दा बाको उच्च शिर सबैको सामु झुकेको थियो । मलाई आत्म ग्लानि भएको थियो । त्यहाँ हुने सबै म माथि खनिए ।मलाई अनैतिक सम्बन्ध किन गरिस् भनेर खुब यातना दिए ।मैले फोटा मात्र खिचेको हो भन्दा कसैले पत्याएनन् । सबै मिलेर खुब यातना दिए । पिट्न सक्ने सबैले पिटे। मेरो जिउबाट रगत बग्न थालेको थियो । मन र शरीर दुवै बेजोड दुख्यो । सहनै नसक्ने गरी दुख्यो । दुखेर चिच्याएर रोएँ ।जति बेसरी रोएँ त्यति कसिलो गाली र पिटाई खाएँ ।केही बेर पछि सबै हिँडे । आमाले मलाई खान पनि दिनु भएन । सबै हिँडे पछि थाममा हात पछाडि बाँधेर छोडिदिनु भयो । मंसिरको चिसो रात हात पछाडि बाँधिएर म मझेरीमा भ्यात्त परें ।मेरा हातले न मेरै पेट भरे न मेरै आँशु पुछे । मेरा हात मलाई नै काम लागेनन्।
बिहान भएपछि मलाई डोरी खोलिदिनु भयो तर म चिसोले अररिएर हिँड्न नसक्ने भएकी थिएँ ।ज्वरो पनि आएको थियो ।म मझेरीको खाटमा सुतेँ । मलाई ज्वरो हनहनी आएको भएर आमा अलि पछुतो माने झैं लाग्दथ्यो तर पनि मलाई दया गर्नु भएन । दिन दिनै कहिले कसको घरमा सभा त कहिले कसको घरमा सभा हुन थाल्यो । संसार मेरो विपरीत लागेको थियो । मानौँ, मबाट जघन्य अपराध भएको थियो । हाम्रै घरमा सभा बसेको बेला गाउँका लाटा गोज्याङ्ग्रासँग पैसा खुवाएर मलाई जिम्मा लागाउने कुरा सुनेर म आत्म हत्या गर्न लागें । घर भित्र धेरै मान्छे थिए । धुरीमा पासो लागाएँ । झुन्निनै लाग्दा बाले भनेको सुनें "म छोरी लिएर कतै टाढा जान्छु । मेरी छोरीले त्यति नराम्रो काम गर्नै सक्दिनँ । फोटा खिच्दैमा अपराध भएको छैन । मेरी छोरीलाई यातना बढी भयो यति हुँदा हुँदै पनि मैले कसैलाई केही भनिनँ । मेरी छोरीलाई केही भयो भने म सहन सक्दिनँ र कसैलाई पनि छोड्दिनँ। " यति सुने पछि म विवश भएँ पासो फुकाउन किनकि म मेरा बाको लागि बाँच्नु परेको थियो ।
यति ताण्डव भयो कि परिस्थिति सम्हालिन सकेन । केही दिन बिरामी भएर सुतेँ ! अलि सञ्चो भएपछि विद्यालय जान्छु भन्नै सकिनँ । एस एल सि को परीक्षा नजिकै आएको हुनाले बा आफैंले पढ्न जा भनेर कर गर्नु भयो । धेरै सम्झाउनु भयो । हिम्मत गर्नु पर्छ नानी !! गल्ती केही गरेको छैन भन्नु भयो । बालाई मैले आत्महत्या गरौँला भन्ने ठूलो चिन्ता थियो । बेला बेलामा भन्नुहुन्बाथ्यो "मरेर केही जितिन्दैन गरेर देखाउनु पर्छ । " बाले गरेको मायाले म विद्यालय जान हिँडे ।बोटोमा साथीहरु सबैले मलाई लखेटि लखेटि तुच्छ र घृणित शब्दले खुब हाने । आफन्तले घृणा गरे पछि परचक्रीले नगर्ने कुरै भएन । आफन्तलाई यो पनि थाहा थिएन उनीहरु आफैँलाई पर्ने छिटा आकाशतिर फर्किएर थुकिरहेका थिए । मेरो नामसँग उनिहरुको पनि त वंश जोडिएको थियो । मेरो बदनामीको कारण उनीहरुको कुलमा पनि त धक्का पुगेको थियो । मेरो सर्बनासमा हात धोएर किन लागि परेका होलान् ? माया गर्ने साथीहरु पनि तर्किएर हिँडे । सबैका बा आमाले उनीहरुलाई मसँग नहिँड्नु भनेका रहेछन् । बाटोको यो व्यवहार देखेर विद्यालय जाने आँट नै आएन । म त्यही बीच बाटोको जङ्गलमा दिनभरि बसेर साँझमा अरु विद्यार्थी घर फर्किदा म पनि पछि पछि घर फर्किन थालेँ।
मेरो पढाई बन्द भयो । यो कुरा मेरा प्रध्यानाध्यापक सरले थाहा पाए पछि घरमा झर्नु भयो र गाउँका जुङ्गे ,मुठे दाजुभाइ बटुलेर पवित्रालाई सफाई नदिएसम्म विद्यालय बन्द गरिदिन्छु भन्नु भयो । वहाँले "पवित्रा विद्यालयको शान हो ,उसले रमाइलोको लागि फोटा खिचेकी हो तर अरु कुनै गल्ति गरेकी छैन म त्यो स्टुडियो र यिनीहरू बसेको होटलसम्म पुगेर एथार्थ बुझे पछि यहाँ आएको हुँ पवित्रलाई यति सम्मको घटिया सजाएँ किन दिनुहुन्छ ? म विद्यालय बन्द गरिदिन्छु ।" भनेपछि स्थिति केही शान्त भयो र म विद्यालय जान थालें तर साथीहरुले मलाई एक्लै बनाए । सरले तीन महिना शुल्क बिना नै ट्युसन पढाउनु भयो । मेरा लागि मेरा गुरु बा -आमा भन्दा उच्च हुनु भएको थियो । मलाई वहाँले त्यति न्याय नदिनु भएको भए सायद म मेरा बाको निमित्त पनि बाँच्न सक्दिनँ थिएँ । आत्महत्या निश्चित थियो । गाउँ समाजमा आफ्नैहरुबाट निक्कै अपहेलित भएकी थिएँ । निक्कै समय पछि पानी बोकेर आउँदै गरेकी मेरा काकाकी बुहारीको डोकोमा मैले बोकेको घाँसको भारीले छोइयो भन्दै पानी पोखेर गाग्री पखाली पखाली पानी भरेर लाँदा मलाई कस्तो महसुस भयो होला । धेरै समय म कसैको घरमा सामान्य अवस्था देखि विवाह ,व्रतबन्ध जस्ता शुभकार्यमा उपस्थित भइनँ।
मैले विद्यालयको पढाई सकें उच्च शिक्षा पनि लिएँ ।जागिर पनि खाएँ तर मेरो चरित्रमा लागेको दाग फाल्न सकेको छैन । अझै पनि मलाई हेर्ने दृष्टि उही छ ।समाजमा आजीवन अछुतो भएर जीवन बिताइरहेका जातीहरूलाई कति पीडा हुन्छ त्यो मैले महसुस गरेकी छु । विना गल्ती साथी दलित भएको कारणले र म महिला भएको कारणले जातीयता र लैगिङ्क हिंसा गरेर मलाई समाजले लगाई दिएको चरित्र हत्याको दाग बोकेर आजीवन हिडिरहेकी छु ।
आफन्तहरूले दिएका असुरक्षित पिडाहरु हृदयमा बोकेर हिम्मतका साथ हिडिरहेकी छु । यो दागलाई सुन्दर रूप दिन त सक्छु सक्दिनँ समयले बताउनेछ ।मलाई काँच सम्झेर फुटाउन खोज्नेको लागि हिरा त बन्न सक्दिनँ होला तर फुटाउन खोज्नेलाई काट्न सक्ने काँच भने जरूर हुनु छ ।