विराटनगर । दशैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाउने उदेश्यले मोरङको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ।
चाडपर्वलाई लक्षित गरेर मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा गरी ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरू भएको हो ।
मोरङ ट्राफिक प्रहरीले बुधबार एक कार्यक्रमको आयोजना गरी यात्रा सहायता कक्षको उद्घाटन गरी संचालनमा ल्याएको छ । चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने यात्रुको सुविधालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको हो । यात्राका क्रममा यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उदेश्यका साथ ठाउँठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याइएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए ।
यात्रुको सहजताका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी, सवारी चालक, मजदुरसँग सम्बन्धित संघ संगठन, बसपार्क व्यवस्थापन समितिलगायतका सरोकारवालासँग समन्वय गरिएको उनले बताए । उनका अनुसार चाडपर्वका बेला यात्रुसँग बढी भाडा लिने, यात्रुलाई जथाभावी तान्ने, यात्रुका सामानको सुरक्षा नगर्ने, आरक्षण सिटको कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी र कोचाकोच यात्रु राख्नेलगायतका समस्या सार्वजनिक सवारीसाधनमा देखिने गरेको छ ।
यात्रुलाई सम्मानजनक व्यवहार नगर्ने, गन्तव्यसम्म नपु¥याउने, एकभन्दा बढी यात्रुलाई एउटै सिटको टिकट काटिदिने, मापदण्डविपरीत सवारी सञ्चालन गर्ने, यात्रुलाई बिचल्ली बनाउने, अस्वस्थ्यकर खाना खान बाध्य पार्ने तथा बेचबिखन गर्ने, गैरकानुनी व्यवहार गरेर यात्रुलाई मार्कामा पार्ने गरिएको छ । यात्रुमैत्री व्यवहार गर्न सबैलाई आह्वान गरिएको बताउँदै न्यौपानेले यात्रुलाई असुविधा पु¥याउने खालका हर्कत गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने जानकारी दिए ।
कार्यक्रममा मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहाल, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बिजय श्रेष्ठ, विराटनगर ११ का वडाअध्यक्ष तिथेन्द्र न्यौपानेलगायतको उपस्थीति रहेको थियो ।