कोशी प्रदेशमा मुख्यमन्त्री काँग्रेसबाट भए दलको नेता नै हुने

कोशी प्रदेशमा मुख्यमन्त्री काँग्रेसबाट भए दलको नेता नै हुने

सुजता लिम्बू
विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आव्हान गरिएको समय अनुसार अब २ दिन मात्रै बाँकी रहेको छ ।

प्रदेशको नेतृत्वका लागि यतिबेला दलका नेतादेखि सांसदहरु छलफलमा जुटेका छन् । यसैक्रममा यदि नेपाली काँग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्री पाए दलको नेता अर्थात उद्धव थापा नै हुने पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले बताएका छन् ।

मुख्यमन्त्रीको प्रस्ताव लिएर भेट्न पुगेका काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीलाई सभापति देउवाले यस्तो जवाफ दिइएको बताईएका हुन् ।

अहिलेको परिस्थितिमा दलका नेता नै मुख्यमन्त्री हुने यदि दलको नेता मुख्यमन्त्री बन्न नसके विकल्पमा पार्टीभित्र सल्लाह गर्ने बताएको पराजुलीले बताए । ‘मैले पार्टी सभापतिज्यूलाई भेटे उहाँसँग मैले कुरा राखे कोशीको मुख्यमन्त्री म बन्नुपर्छ भनेर, केन्द्रिय सदस्य पनि महानगरको नेतृत्व पनि गरेको हुनाले,तर उहाँले अहिले संसदीय दलको नेता नै बन्छ भन्ने प्रतिक्रिया दिनुभएको छ । उनले भने,‘अहिले मुख्यमन्त्री बन्दा संस्थागत रुपमा बन्छ । यदि उहाँ बन्नुसक्नुभएन भने तपाईको बारेमा छलफल गरौँला भन्नुभयो ।

कुराकानीका क्रममा राप्रपासँग निर्णायक वार्ता गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएको पराजुलीले जानकारी दिए । मध्यावधिमा जान नहुने, देशको अवस्था र आर्थिक परिस्थिति पनि नराम्रो रहेको हुँदा प्रदेशप्रति वितृष्णा जाग्ने, काम नलाग्ने भन्ने अवस्था आएको छ । गणतन्त्र नचाहने, प्रणाली नचाहने, संविधान नमान्नेहरुको लागि मध्यावधिमा गएको खण्डमा खेल्ने ठाउँ भएका आफूले पार्टी सभापतिसमक्ष कुरा राखेको समेत उनले बताए ।

राप्रपा मानेन भने मध्यावधिमा नजानका लागि एमालेसँग पनि सल्लाह गरेर जान सकिन्छ भनेर आफूले विकल्पमा जानुपर्नेमा जोड लिएको बताए । तर, सभापतिले एमालेसँग मिलेर जाने कुरामा त्यति चासो नदिएको समेत बताए । कुराकानीका क्रममा आफूले राप्रपा मिलाउने भनेर सभापतिले संकेत गरेको बताए।

यतिबेला कोशी प्रदेश सरकार बनाउने अन्तिम विकल्पको तयारीमा छ । जसका लागि संविधानको धारा १६८ (५) को अन्तर्गत सरकार बनाउन नेताहरुको दौडधूप चलिरहेको छ । बहुमत पुर्याउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हिक्मत कार्कीले असोज २० गते शनिबार पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख पर्शुराम खापुङले असोज २६ गते बेलुका ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि समय दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्