-वसन्त घिमिरे
मैले जानी जानी
तिमिले देखेकाे तिम्राे उज्वल भविष्यको लागि
मैले देखेकाे मेरो कहालीलाग्दो जीवन राेजेकाे हुंँ
तिम्रा सुन्दर सपनाहरु पूरा गर्न मेरा आँसुहरु
लुकाउन खाेजेको हुँ
अब खुसीका दिन आउछन् भन्दै आफ्नै मनलाई
मैले ढाँटीदिएकाे हुँ
मलाई थाह छ मैले कुनै बाटो नदेखेपछि
तिमीलाई डलरमा साटिदिएकाे हुँ
पल्ला घरका दाइलाई हेर्छु अनि सम्झन्छु
तिमीले त छाेरा स्वाँठ बनायौ
तिमी कति भाग्यमानि रैछाै बुढा
दिनभरि खेतका ठल्ला फाेरे पनि
तिम्रै काखमा निदाएको छ
कर्कलाे र ढिँडो खुवाएरै पनि
तिमिलाई कत्ति हसाएकाे छ
हरेक वर्ष तिम्रा घरमा
हर्षकाे दशैं आएकाे छ
विहानी झिस्मिसेमै
तिम्रा आँगनीमा टलल्ल सुर्य उदाएकाे छ
चराहरुको चिरविरसगैँ घरमा
मीठो ताेते बोली चिर्बिराएकोछ
चाहना ठुला महलका छैनन् तिम्रा
तर जति छन् सबले पुर्णता पाएकाेछ
अनि फेरि आफुलाई सम्झन्छु
ठुलाे महल त ठडिएकाे छ
तर पुरानो झुपडिकै याद आएकाे छ
घरका कोठाहरु आधुनिकताले सजिएकाेछ
तर श्रृङ्गार छैन दृश्य हराएकाेछ
न कुनै वर्ष घरमा दशैं आएकोछ
न हर्ष र खुसियाली छाएकोछ
प्रत्येक दशैंहरुमा आईफाेनमा टीका लगाउदा
केवल आखाँहरु रसाएकोछ
ती रसाएका आँखा पुछ्न मेरा लागि
सुनको रुमालहरु त आएको छ
तर खै बाबू
यिनले न मेरो आँसु थाम्न सक्यो
न यिनले मेरो अन्तरहृदयलाई नै छाम्न सक्यो
अहिले बल्ल बुझे
म त सन्तान बेचेर रमाएकाे रहेछु
म त आत्मा रुवाएर मुस्कुराएकाे रहेछु