केदार कार्की : नेविसङ्घ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

<span class='c1'>केदार कार्की : नेविसङ्घ</span> <span class='c2'>एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म</span>

विराटनगर । केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त हुनुभएको छ । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मनुभएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएको हो ।

मोरङको बुढीगंगा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका हुनुहुन्थ्यो। विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उहाँ सहयोगी एवं उपकारी स्वभावका हुनुहुन्छ।

सुनसरीको जनता उच्च माध्यमिक विद्यालय मधेसामा अध्ययन गर्नुभएका उहाँ २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको एकाइ सभापति हुनुभएको थियो । उहाँले उच्च शिक्षा भने विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट पूरा गर्नुभयो । विसं २०५२ सालमा नेविसङ्घको क्याम्पस एकाइ सभापति हुनुभएका उहाँ त्यसपछि नेविसङ्घकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहनुभयो । उहाँ हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

विसं २०७४ सालको आमनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ६ ‘२’ बाट निर्वाचित कार्की २०७९ साल मङ्सिर ४ गतेको आमनिर्वाचनमा पुनः सोही क्षेत्रबाट कोशी प्रदेश सदस्यमा निर्वाचित हुनुभयो । उहाँले पहिलो कार्यकालमा कोशी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँले २०७८ भदौदेखि २०७९ पुससम्म कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभयो । मन्त्रीका रुपमा उहाँले मन्त्रालयलाई बेरुजु मुक्त बनाउनेदेखि सङ्घीयतालाई संस्थागत गर्ने काममा खटिनुभएको थियो । स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्नुभएका कार्कीका पत्नी, दुई छोरा हुनुहुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्