विराटनगरलाई गिज्याउँदै हुलाकी सडक

<span class='c1'>विराटनगरलाई गिज्याउँदै</span> <span class='c2'>हुलाकी सडक</span>

विराटनगर । विराटनगर–५ का बिक्रान्त कार्की ३८ वर्षदेखि जामुनगाछी बसोबास गर्दै आएका छन् । उनलाई पछिल्लो समय हुलाकी राजमार्ग निर्माण नहुँदाको धुलोले साह्र्रै पिरोलेको छ । घर अगाडी गेटमा उभिएर उनी धुलोले पुरीएको घर हेर्छन् र सडकमा सवारी गुडाउन परेको सास्ती ।
दशैं नजिकीएपछि उनी विराटनगर घरमा फर्किएका हुन् । काठमाडौँ सर्नुको कारण पनि उनले सडकको अवस्थालाई देखाउँछन् । ‘दुःख लागेर आउँछ, आफूले भोट दिएर जिताएका जनप्रतिनिधिले समेत कहिल्यै बुझेनन् यहाँको पिडा’ कार्कीका अनुसार मोरङ क्षेत्र नम्बर ६ का संघीय प्रतिनिधि डाक्टर शेखर कोइरालाले समेत कुनै पहल नगरिदिएको गुनासो गर्दछन् ।

नजिकै भेटिएका अर्का सुरेन्द्र कार्की कसैले बाटोको बारेमा सोधखोज गर्न थाले झर्को लाग्ने गरेको बताउँछन् । विराटनगर भित्रै गिज्याई रहेको सडकले दिएको सास्ती बेहोर्ने नागरिकका कुरा कसैले नसुन्दा उनी दिक्क भएका हुन् । वर्षात् सकिएपनि जामुनगाछी क्षेत्रमा भैंसी बस्न हुने आहाल सडकमै छन् । एकातिर पानी जमेको आहाल भएपनि अर्कोतर्फको धुलो उडिरहेको देखिन्छ ।

वर्षौदेखि निर्माण प्रक्रिया थालिएपनि ३.५ किलोमिटरको विराटनगर–केशलिया सडकको काम नहुँदा स्थानीय चिन्तित छन् । विराटनगर भित्रको यो सडकले मोरङ र सुनसरी जिल्लालाई जोड्छ । तर, पनि निर्माणमा हुने उल्झनले स्थानीयवासी पिडा खपेर बसेका छन् । हुलाकी सडक निर्देशानालय अन्तर्गत इटहरी परियोजनाको कार्यालयले पूर्वका चार जिल्ला हेर्दै आएको छ । बारम्बार यो विषयमा स्थानीय तह र स्थानीय प्रशासनले समेत चासो राखेपनि निर्माणले गति नलिदाँ सर्वसाधारणको दैनिक आवागमन गर्ने अधिकार सुनिश्चित हुन नसकेको हो ।

सडक असहज भएका कारण सिटी सफारी समेत जान नमान्ने दावी स्थानीयको छ । कच्ची सडक वर्षात्मा खोला बग्ने र हिउँद लागेपछि धुलो उड्ने गर्दछ । जसको असर मानव स्वास्थ्यमा समेत पर्ने गरेको छ । धुलोका कारण हिउँदपछि रुघाखोकीको समस्या धेरैलाई हुने गरेको गुनासो छ ।

सडक बनाउन पहल गरिदिनु माग गर्दै स्थानीयले त्यहाँबाट निर्वाचित जनप्रतिनिधिलाई प्रवेश निषेधसम्मका कार्यक्रम राखेर दवाव बढाएका थिए । तर, दवावले काम दिएन । स्थानीय सरकार विराटनगर महानगरपालिकालाई समेत बारम्बार गुहार माग्दा समेत सडक निर्माणको पहल नभएको गुनासो समेत छ ।

हुलाकी सडक आयोजना इटहरी अन्तर्गत साइड इन्जिनियर दिपेन्द्र चौधरीले अहिले रिटेनिङ्ग वाल लगायतको काम भईरहेको दावी गर्दछन् । उनले दशैपछि धमाधम काम हुने बताए । तर, स्थानीयवासीले अहिले पनि कुनै काम नभएको गुनासो गर्दै आएका छन् ।
कोशी प्रदेशका झापा–मोरङ र सुनसरी तथा मधेश प्रदेशको सप्तरी जोड्ने यो सडकको काम सुस्त भईरहेको गुनासो छ । चार जिल्लामा मुख्य र सहायक गरी २ सय २५ किलोमिटर दुरीको सडकसँगै सडकखण्ड भित्र पर्ने पुल निर्माण गर्नुपर्नेछ ।

सप्तरीको राजविराज–मोरङको विराटनगर हुँदै झापाको भद्रपुरसम्मको सडक संरचनाको काम हुलाकी सडक आयोजना इटहरी कार्यालयले हेर्दै आएको छ । हुलाकी राजमार्ग अन्तर्गत झापामा ४८ किलोमिटर, मोरङमा ४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ३२ किलोमिटर दुरीको मुख्य राजमार्ग र राजमार्ग भित्र पर्ने पुल निर्माण गर्नुपर्ने हुन्छ । सहायक सडकको रुपमा झापाको चारआली–केचना ४० किलोमिटर, मोरङको कानेपोखरी–रंगेली २५ किलोमिटर र सप्तरीको कल्याणपुर–बर्साइन हुँदै ब्रह्मपर्ती १८ किलोमिटर दुरीमा सडक निर्माण गर्नुपर्नेछ ।

चार जिल्लामा १ सय ४ किलोटिमर दुरीको सडक र सडकखण्ड भित्र पर्ने ३० वटा पुल निर्माण हुनुपर्दछ ।
तराईका जिल्ला जोड्ने लाइफलाइन सडकको रुपमा रहेको हुलाकी राजमार्गको पूर्व–पश्चिमतर्फको ९ सय ७५ किलोमिटर दुरी मुख्य राजमार्गको रुपमा पर्दछ । यसैसँग जोडिएर तराईका जिल्ला सदरमुकाम जोड्ने उत्तर–दक्षिण सहायक सडकको दुरी ८ सय १७ किलोमिटर पर्दछ । सहायक सडकमा ३२ वडा मार्गहरु निर्माण गर्नुपर्ने हुन्छ ।

मुख्य र सहायक सडकसहित एक हजार ७ सय ९२ किलोमिटर दुरी पर्दछ । आर्थिक वर्ष २०६२/०६३ देखि निर्माण थालिएको राजमार्ग अन्तर्गत मोरङको रंगेलीदेखि विराटनगरसम्मको अवस्था समेत उस्तै रहेको छ ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्