विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुशासन कायम गर्दै जनमुखी प्रदेशमा समृद्धि हासिल गर्नुपर्ने पनि बताए । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले सांसदहरुले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने पनि बताए । ‘मध्यावधि निर्वाचनमा जान दिनुहुने छैन भन्ने माननीयज्यूहरु प्रति विश्वास व्यक्त गर्दछु । प्रदेश प्रदेश नै हो। प्रदेशको स्वनिर्णय हुन्छ । यसमा हामी सक्षम छौं । हामीलाई जनताले निर्णय गर्न पठाएका हुन् भन्ने भावनाका साथ आउनु भएको हो,’ उनले भने, ‘मलाई विश्वासको मत दिइसकेपछि मलाई डोर्याउनु पनि हुनेछ । मुख्यमन्त्रीप्रति गर्ने आलोचनालाई सरकारले कुनै रिसराग गर्ने छैन । संसदमा माननीयज्यूहरुले आफ्ना कुरा राख्नुहुनेछ । माननीयहरुले सरकारको निगरानी जति धेरै गर्नुहुन्छ सरकार सचेतपूर्वक अगाडि बढ्न सहयोग पुग्नेछ ।’
उनले संविधानले दिएको अधिकार प्रयोग गर्न सचेततापूर्वक अगाडि बढ्ने पनि बताए । गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले प्रदेशमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न सबै एकताबद्ध हुन आवश्यक रहेकोमा जोड दिए ।
‘जनताको रगतले लेखिएको संविधानको धारा १६८ को (५) अनुसार मलाई विश्वासको मत दिँदैहुनुहुन्छ । यसका लागि माननीयज्यूहरुप्रति नमन गर्न चाहन्छु । नेपालको संविधानको भावना अनुसार, जनताआन्दोलनको भावनाअनुसार, सशस्त्र युद्ध, मधेश आन्दोलनको भावना अनुसार जनताको अधिकार स्थापित गर्ने र जनतालाई दरिद्रताबाट मुक्ति दिन शिक्षा, समानता र राज्यको हरेक निकायमा जनताको पहूँच पुर्याउने अनुसार काम गर्नुपर्नेछ । त्यही शिलशिलामा म आफूलाई दिएको विश्वासलाई ध्यानमा राखेर म अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु,’ कार्कीले भने ।