पर्यटन बिशेष: दशैँमा कोशी प्रदेशका घुम्न सकिने पर्यटकीय गन्तव्य

पर्यटन बिशेष: दशैँमा कोशी प्रदेशका घुम्न सकिने पर्यटकीय गन्तव्य

विराटनगर, कोशी  प्रदेश मा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा ८८४८.४८ मिटर उचाइमा रहेकाले पनि यो प्रदेश घुम्न आकर्षित छ ।

नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल रहेका छन् । तीमध्ये कोशी  प्रदेश मा पाँचवटा पर्छन् । प्रदेश १ मा रहेका ८ हजार मिटरमाथिका पाँचवटा हिमालमध्ये विश्वकै अग्लो सगरमाथा, विश्वकै तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं मकालु र छैठौं अग्लो चोओ यु रहेका छन् । प्राकृतिक र जैविक विविधताले भरिपूर्ण रहेको यो प्रदेशमा दसैंमा घुम्न चाहनेहरूका उपयुक्त छ ।

इलाम
इलाम भन्नेबित्तिकै मानिसहरूको मनमा चिया बगानको झझल्को आउँछ । कतिपयले त इलामलाई प्रकृतिकी रानी पनि भनेर चिन्छन् । एकैछिनमा कुहिरो लाग्ने, केहीबेरमै घाम लाग्ने र जुनसुकै समयमा पनि चिसो बतास चलिरहनु इलामका विशेषता हुन् ।

इलाममा धेरैजसो मानिस सूर्योदय हेर्न जान्छन् । यहाँको श्रीअन्तु डाँडाबाट उदाउँदै गरेको सूर्यको मनोरम दृश्य हेर्न पर्यटकको भीड लाग्ने गरेको छ । यहाँ होमस्टेमा बसेर स्थानीय अर्गानिक परिकारको स्वाद लिन सकिन्छ । श्रीअन्तुको अलावा कन्याम, फिक्कल, पशुपतिनगर, इलाम बजार, सन्दकपुरलगायतका ठाउँ पनि घुम्नका लागि आकर्षक ठाउँ हुन् । त्यसो त दार्जिलिङ जान पनि यहाँको पशुपतिनगर हुँदै जाने नाका भएका कारण पनि पछिल्लो समय बाह्य पर्यटक पनि बढ्दै गएका छन् ।

पाँचथर
पाँचथरमा घुम्न जिल्ला सदरमुकाम फिदिमदेखि ऐतिहासिक महŒव बोकेको हिलिहाँङ दरबारसम्म छन् । यस्तै, पाँचथरमा काबेली, तिम्बुपोखरी, जोरपोखरी, पानावा झर्ना, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भन्ज्याङ, स्वर्गपुरी मन्दिर, लब्रेकुटीलगायतका ठाउँ घुम्न आकर्षक ठाउँ हुन् ।

ताप्लेजुङ
ताप्लेजुङ भन्नेबित्तिकै पाथिभरा छर्लंगै हुन्छ । ताप्लेजुङ जिल्ला धार्मिक पर्यटकका लागि मुख्य गन्तव्य हो । ३ हजार ९४ मिटर उचाइमा अवस्थित पाथिभरा मन्दिरमा गरेको भाकल पूरा हुने धार्मिक विश्वास छ ।

त्यसो त, विश्वको तेस्रो अग्लो स्थानमा रहेको कञ्चनजंघा हिमाल (८,५८६ मिटर) पनि धेरैजसोको आकर्षण बन्ने गरेको छ । कतिपय पाथिभरा मन्दिरबाट कञ्चनजंघालाई आँखाको लेन्समा कैद गर्छन् ।

ताप्लेजुङमा तिम्बुङपोखरी, फुङफुङे झर्ना, मिल्के जलजले क्षेत्र, सुकेटार क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन् भने तिब्बतसँग सीमा जोडिएको ओलाङचुङगोला यही जिल्लामा पर्छ ।

संखुवासभा

संखुवासभामा यहाँको सभापोखरी र गुफापोखरीले चर्चित छ । त्यसो त मकालु बरुण राष्ट्रिय निकुञ्ज, मिल्के डाँडा पनि संखुवासभाका पर्यटकीय गन्तव्य हुन् ।

संसारकै होचो अरुण उपत्यका (४५७ मिटर), विश्वको पाँचौं र नेपालको चौथो अग्लो मकालु हिमाल (८,४८१ मिटर)लगायतका हिमशृंखलाका रूपमा प्रसिद्व छ । लालीगुराँससहित धेरै प्रजातिका गुराँस पाइने जलजले क्षेत्र पनि यो जिल्लामा पनि पर्छ ।

तेह्रथुम
तेह्रथुम गुराँसको राजधानीका रूपमा परिचित छ । तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रका रूपमा प्रसिद्व रहेको तेह्रथुममा २८ प्रजातिका गुराँस पाइन्छन् । नेपालकै अग्लो ह्यात्रुङ झरना (३६५ मिटर) उचाइमा रहेको छ । यस्तै, ढुंगाको बगैंचा, चिचिलिङ पोखरी, वसन्तपुर, सोल्मा चियाबगानले पनि यस जिल्लालाई पर्यटक आउने गन्तव्य बनाएको छ । यस्तै, मेन्छ्यायेम डाँडा र सिमिनाक्सी पाथिभरा तेह्रथुमका धार्मिक पर्यटकीय गन्तव्य हुन् ।

धनकुटा
धेरैजसो मानिसले धनकुटा भन्नेबित्तिकै भेडेंटार सम्झन्छन् । २०६७ सालमा अमेरिकी टेलिभिजन च्यानल (सीएनएन)ले विश्वका उत्कृष्ट घुम्न लायक १२ स्थानमा नाम्जेलाई पनि समेटेपछि यहाँ पर्यटकीय गन्तव्य बढेका छन् ।

होमस्टे र अर्गानिक खाना खान पाइने भएकाले पनि नाम्जेमा पर्यटकहरूको चहलपहल बढी हुन्छ । सुनसरीसँग सीमा जोडिएको धनकुटास्थित भेडेटार १४ सय ३० मिटर उचाइमा छ । धनकुटा एभोकाडो फलका लागि पनि चर्चित जिल्ला हो । जिल्लाको पाख्रीबास, हिले, धनकुटा बजार, डाँडाबजार, छिन्ताङ, विश्रान्ति मन्दिर, राजारानी, नमस्ने झरना आदि पर्यटकीय गन्तव्य हुन् ।

भोजपुर

भोजपुर जिल्ला खुकुरीका लागि प्रसिद्व छ । अहिले पनि कतिपय अन्य ठाउँहरूमा भोजपुरे खुकुरी भनेर खुकुरी बेच्ने गरेको पाइन्छ । भोजपुर प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक जिल्लाका रूपमा परिचित जिल्ला हो । ट्याम्के डाँडा, मैयुङ डाँडा, साल्पा सिलिचुङ, साल्पापोखरी, षडानन्दको जन्मभूमि दिङ्ला, सिद्धकाली मन्दिर, नागछाँगा, बैकुण्ठे, हतुवागढी आदि भोजपुरका पर्यटकीय गन्तव्य हुन् ।

खोटाङ
खोटाङ भन्नेबित्तिकै धेरैजसोले धार्मिक पर्यटकीय गन्तव्य हलेसी महादेवलाई स्मरण गर्छन् । भ्वाङ बनाएर विराजमान भगवान्् शंकर र अन्य देवीदेवताको अवस्थितिले हलेसी पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्छ । खोटाङ र ओखलढुंगालाई छुट्याएको दूधकोसी नदीमा स्नान गरेर हलेसीको दर्शन गर्दा भाकल गरेका कुरा पुग्ने धेरैजसोको विश्वास छ ।

हलेसीका अलावा हलेसी मलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रूपाकोट डाँडा, मझुवागढी, ताराखसे डाँडा र सहदेउ गढी, खोटाङ बजार, दिक्तेल आदि पर्यटकीय गन्तव्य हुन् ।

उदयपुर
उदयपुर देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग’का कारण प्रख्यात छ । त्यसका अलावा जाल्पादेवी, लिम्पाटार, रौतापोखरी, चित्रेथाम, चौदण्डीगढी, उदयपुरगढी, ताप्ली पोखरी, मैनामैनी, कोसीटप्पु वन्यजन्तु आरक्ष, झिल्केपोखरी, सुकेपोखरी, थानापोखरी बेलकालगायत जिल्लाका पर्यटकीय गन्तव्य हुन् ।

सुनसरी
सुनसरी कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र भएकाले चर्चित छ । त्यसो त यहाँ धार्मिक पर्यटकका लागि बराहक्षेत्र, धरानको बूढासुब्बा, पिण्डेश्वर, दन्तकाली मन्दिर, शिवजट्टा, रामधुनी, विष्णुपादुका चताराधामका कारण पनि प्रख्यात छ । यस्तै, सप्तकोसी नदी पनि यही जिल्ला हुँदै बग्ने भएका कारण पनि धेरैजसोको पर्यटकीय गन्तव्य सुनसरी हुन सक्छ । कोसीटप्पु वन्यजन्तु आरक्षमा चराका लागि उचित बासस्थान हो । यस्तै, अर्ना, जंगली हात्तीलगायतका अन्य विभिन्न वन्यजन्तु नियाल्न पाइने भएकाले सुनसरीको कोसीटप्पु आकर्षक गन्तव्य हो ।
यस्तै, सुनसरीमा विभिन्न मूर्तिहरूले भरिपूर्ण इटहरीको तालतलैया पनि अर्को आकर्षक गन्तव्य हो । यस्तै, विभिन्न ताल, पोखरी, बर्जु तथा धरानको चिण्डेडाँडा पनि यहाँको घुम्नलायक अर्र्को गन्तव्य हो ।

मोरङ
कोशी प्रदेशको एउटै मात्र महानगर रहेको मोरङमा विराटनगर महानगरपालिका छ । औद्योगिक सहरका रूपमा परिचित रहेको विराटनगरमा विभिन्न ठाउँमा अवलोकन गर्न सकिन्छ । बिराटनगरको बिराट राजाको दरवार पनि घुम्न जान सकिन्छ ।

यस्तै, मोरङको कर्णाली भनेर चिनिँदै आएको जेफाले पनि पर्यटकका लागि आकर्षक गन्तव्य हो । जेफाले डाँडाबाट विभिन्न जिल्ला अवलोकन गर्न सकिन्छ । यस्तै, केराबारी, मिक्लाजुङ डाँडा, बेलबारीको बेतना सिमसार, सुन्दरहरैंचाका विभिन्न पार्क यहाँका लागि अर्को आकर्षणको गन्तव्य हो ।

झापा
घना बस्ती भएको झापा जिल्ला ‘धान उत्पादनको राजधानी’ हो । झापामा नेपालकै सबैभन्दा होचो भूभाग कचनकवल छ । झापाको बिर्तामोड पछिल्लो समय तीव्र सहरीकरण हुँदै गएकाले प्रदेश १ कै मुख्य व्यापारिक केन्द्रसमेत बन्दै गएको छ ।

झापामा अर्जुनधारा, कचनकवल, सतासीधाम कन्काईमाई, समयगढ, चिल्लागढ, चन्द्रगढी, कृष्ण थुम्की, जामुनखाडी सिमसार क्षेत्र आदि घुम्नलायक ठाउँ हुन् ।

ओखलढुंगा
ओखलढुंगा जिल्ला युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो हो । साहित्यका लागि उर्वर भूमि ओखलढुंगा विविधताले भरिपूर्ण छ ।
मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारका क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका थिए । उनको फौजले किराँतलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटेर खाएकाले त्यही ओखलका नामबाट यस ठाउँको नाम ओखलढुंगा रहन गएको यहाँका पुर्खाहरू सुनाउँछन् । सो ओखल रहेको ढुंगा परिसरमा सिद्धिचरण श्रेष्ठको पार्कसमेत बनाइएको छ । ओखलढुंगामा रुम्जाटारले पनि परिचित छ ।

सोलुखुम्बु
विश्वकै सर्वोच्च शिखरमा रहेको सगरमाथा सोलुखुम्बुमा अवस्थित छ । हिमाली भेगको यात्रा गर्न चाहनेहरूको पहिलो गन्तव्य नै सोलुखुम्बु हुने गरेको छ । ८८४८.४८ मिटर उचाइमा रहेको सगरमाथासहित अन्य विभिन्न हिमाल यो जिल्लामा छन् ।

यस्तै, लुक्ला विमानस्थल पनि यहाँको चर्चित ठाउँ हो । नाम्चे बजारका कारण पनि सोलुखुम्बु पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । त्यसको अलावा दूधकुण्ड पोखरी, साल्पा पाँचपोखरी, लामाजुरा, पत्ताले डाँडा यहाँका चर्चित ठाउँ हुन् । विदेशी पर्यटकका लागि पनि घुम्ने पहिलो गन्तव्य सोलुखुम्बु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्