काठमाडौं । अब ट्राफिक प्रहरीको चेकजाँचको क्रममा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ले मान्यता पाउने भएको छ ।
सोमबार सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै नागरिक एपले याे सेवा देशैभर लागू भएकाे जानकारी दिएकाे हाे ।
याेसँगै ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्य हुने भएकाे हाे ।
नागरिक एपले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौँ । यदि नागरिक एपमा तपाईंको सवारी चालक अनुमतिपत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस् ।’
यो व्यवस्था लागु भएसँगै लाइसेन्स कार्ड साथमा लिएर हिँड्न भुलेका तथा लाइसेन्स परीक्षा पास गरी लाइसेन्स कार्डको पर्खाइमा रहेका सेवाग्राहीले नागरिक एपमार्फत लाइसेन्स देखाएर लाभ लिन सक्ने छन् ।