महल उज्याल्याउन झुपडीमा जाँगर

महल उज्याल्याउन झुपडीमा जाँगर

रबिन्द्र बराल
विराटनगर । हिन्दु धर्मालम्बीहरुको पहिलो पर्व दशैं विदा भएको छ । पहिलो चाड सकिएसँगै दिपावली नजिकँदै गएको छ । तिहारसँगै तराईको विशेष पर्व छैठ समेत जोडिएर भित्रन्छ ।

चाडपर्वहरु नजिकीदै गर्दा मोरङको रंगेली नगरपालिका र सुनवर्षी नगरपालिकामा बसोबास रहेको कुमाल समुदायका घरमा भने माटाका सामाग्री बनाउने जाँगर बढेको छ । लक्ष्मीपुजा र छैठमा बढी प्रयोग हुने दियो–कलश, पाला, ढक्ना जस्ता सामाग्री बनाउन उनीहरु व्यस्त रहेका हुन् ।

धनकी देवी लक्ष्मीको आराधनाका क्रममा घर वरिपरि पाला बालेर झिलिमिलि बनाइन्छ । यसमा माटोको दियो सुद्ध हुने भन्ने मान्यता रहेकाले बात्ति र तेल राखेर लक्ष्मीलाई स्वागत गर्ने परम्परा रहेको छ ।
मोरङको रंगेलीस्थित आमगाछी र सुनवर्षी नगरपालिकाको कदमगाछीमा २४ घरधुरी कुमाल समुदाय अन्तर्गत पण्डित जातीको बसोबास रहेको छ । उनीहरुले माटोबाट दियो, घैला, सीया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढक्ना, दलिया, पाला, कलश जस्ता सामाग्री निर्माण र बिक्रीबाट जीविकोपार्जन गर्दै आएका छन् । तिहार र छैठमा यी सामाग्रीको विशेष माग हुने भएका कारण दशैंसँगै उनीहरुले ध्यान यहि कामका लागि केन्द्रीत गर्दै आएका हुन् ।

‘समयले पेसा संकटमा पारिरहेको छ’ आमगाछी रंगेलीका विरेन पन्डितले भन्नुभयो–बिद्युतीय झिलिमिलि भित्रियो, दियो र पालाको माग घट्यो तर मान्यता भने हटिसकेको छैन । उहाँका अनुसार जतिसुकै ठूला महलमा बिद्युतीय झिलिमिलि लगाएपनि दियो, घडा र पाला बिना तिहार मनाउने प्रचलन हटिसकेको छैन । तर, यसको संख्यात्मक प्रयोग भने घटेको उहाँको बुझाई छ । विरेनका अनुसार पहिलो र दोस्रो चरणमा उत्पादन गरेका सामाग्री बजारमा पठाई सकिएको छ ।

पुर्खौली पेसा भएका कारण विरेन १० वर्षयता यहि काम गरेर गुजारा चलाउँदै आएको बताउनुहुन्छ । तर, पछिल्लो दशवर्षमा पालाको जमानामाथि इलेक्ट्रोनिक वस्तुले चुनौती थपिदिएको बुझाई छ ।
पुर्खाले गरेको सीपयुक्त पेसालाई अंगाल्दै जीविकोपार्जन गर्नु परेको अर्का सुरेश पण्डित बताउनुहुन्छ । उहाँले माटोको काममा मेहनत र खर्च धेरै रहेको बताउनुभयो । माटो, पराल र दाउरा किन्नुपर्दा अपेक्षा गरेजति कमाई नहुने गरेको उहाँको भनाई छ । माटोका सामाग्री मेहनतका लागि बनेपछि त्यसलाई घाममा २४ घण्टा र आगोमा ७२ घण्टासम्म पकाउने पर्ने उनीहरुको दावी छ । त्यसो नगरे बीचमै फुट्ने डर रहेको छ । काम गरिरहनु भएका विरेन्द्र पण्डितले भन्नुभयो–कुमालले बनाएको माटोका सामाग्री फुट्नु भनेको विश्वास टुट्नु जस्तै हुन्छ । मेहनत गरेर बनाउनु पर्दा लागतको तुलनामा आम्दानी हुँदैन ।

तिहारका लागि दियो र घडाको माग बढी हुन्छ । छैठमा समेत तिहारमा जतिकै सामाग्रीको माग हुने गरेको छ । अहिले पाला एकदर्जनलाई ६० रुपिँयामा बिक्री गर्ने गरिएको छ ।
एउटा निश्चित बस्तीमा बसोबास गर्ने समुदायको समान पेसा भएका कारण स्थानीय सरकार रंगेली नगरपालिकाले भने बिद्युत मेसिन समेत उपलब्ध गराएको छ । रंगेली नगरपालिका उपप्रमुख झुमा पराजुलीका अनुसार नगरपालिका भित्र रहेका १२ घरधुरी परिवारलाई लक्षित गरेर माटाका भाँडा बनाउँदा माटो मुछ्ने लगायतका कामका लागि बिद्युतीय मेसिन उपलब्ध गराइएको जानकारी दिनुभयो । पेसा टिकाउन र आत्मानिर्भरता बढाउनका लागि स्थानीय सरकारले मेसिन र माटोका लागि ६ कठ्ठा जग्गा समेत उनीहरुलाई उपलब्ध गराएको उपप्रमुख पराजुलीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्