-सृष्टि सावित्रा
आकाश पुगिसक्यो बादल पानी लिएर
तिमी अझैँ दौडिदै रहेछौँ, जवानी लिएर
घरिघरि सवाल गर्छ मलाई आफ्नै मनले
बागमती कहाँ पुग्यो होला राजधानी लिएर
गरिबीले लुटेको छ मेरी आमाको भोक निद्रा
बिस्तारा फेरिरहन्छिन् हातमा सिरानी लिएर
तिमी शहरमा दुनियाँको कहानी सुन्दै बस्यौ
म गाउँ फर्किएँ आफ्नै कहानी लिएर
आशा थियो खुशीमा दर्ता हुन्छ जिन्दगी
थाहै नपाई भागेछ खुशी चलानी लिएर