-अम्बिका अधिकारी
बेला सुन्दर यो ऋतु शरदको आकाश यो निर्मल
फुल्छन् पुष्प हजार वागभरि नै रोकिन्छ वर्षा जल
खुल्छन् श्वेत हिमाल उतर अहो चाँदी जसै झल्मल
झुल्छन् धान सुवर्णका फलसरि बन्दै पँहेलीपुर
जाडो छैन न घामको पिर कतै आँधी हुरी शीतको
सफन स्वच्छ सुरम्यता पन अहो यो मौसमी जीत हो
आए चाड ठुला दशै सँगसँगै तिहार झन् सुन्दर
बल्छन् दीप हजार झिलमिल् अहो लक्ष्मी पुजा घरघर
यस्तो सुन्दरता सुरम्पनमा लक्ष्मी उदायौ तिमी
एउटा दीप समान तेज रविको साहित्य सन्जीवनी
वाल्यकाल सँगै चल्यो कलम त्यो साहित्यका फाँटमा
लेख्यौ लेखन बहुविधा सहज नै विचार नौला घना
जुध्यौ दिन गरिब साथ तर खै ती सिर्जनामा कतै
भोक, रोग ,अभाव, शोक हीनता भेटिन्न खोजौ जसै
तिम्रो काव्य कला बहन्छ रसिलो बर्षात वायु सरी
टेकी मार्ग स्वछन्दता सँगसँगै आदर्श नौलोगरी
लेख्यौ भाव बिचार दीनहरुको चिर्दै पुराना पद
सामन्ती पन च्यातिँदै नविनता हौ क्रान्तिकारी अझ
पुज्यौ राष्ट्र समेतको हृदयले महाकवि हौ तिमी
दियौ सिर्जन राष्ट्रभक्त तिमी हौ साहित्य पार्यौ धनी
अल्पायुसँग पोखियौ तिमी चल्यौ यो सृष्टि भन्दा पर
लेखी काव्य अनेक हत्पत भर्यौ साहित्य हाम्रो घर
तिम्रो तस्वीर राखदै हृदयमा जोडी दुबै अञ्जली
राख्छु आज विनम्र साग दिलले भाबपुर्ण श्रद्धाञ्जली
आत्मा शान्ति मिलोस् बेैकुण्ठ पदमा हार्दिक श्रद्धाञ्जली