-ऋषि तिवारी
'पुषको चिसो क्षणको रात थियो ।'
एउटा झ्याल खोलेको छु । ब्लयाङ्केट ओढेको छु । आँखा झ्यालतिर छ । जूनको उजेलीपनि मधुरो देखा पर्दैछ । कुहिरो र हुस्सुले ढाकेको छ आकाश । त्यत्रा नौ लाख ताराहरू शून्य छन् । आकाश पनि निरास छ ।
पत्नी पनिसंगै छिन् । भन्छिन्, 'झ्याल लगाउँनुस्,हावा चिसो आयो । जाडोले मुटु काम्यो ।'
उनको आग्रह मानें झ्याल लगाइ दिए । उनको कामेको मुटु शिथिल भो उनी निदाइन् ।
म एकछिन त्यहि झ्यालको शिशाबाटै बाहिर नियाल्दै थिएँ । केही कल्पिन पुगें । हामी मान्छे एसरी यो जाडोमा घरभित्र थुनिन्छौं, त्यो कुकर्नी र भर्खरै जन्मिएका तीनका छाउराहरुलाई के भो होला ? हुन त दिउँसो यसो परालको थुप्रोमा थिए । त्यहां डांगो कुकुरहरुले दुःख दिदा मेरो घरको पिढींमा शरण लिन्थीं । रात छिपिदै छ । अझ चिसो बढ्ने संकेत घट्ने होइन । त्यही रात भुस्या कुकुरहरु पनि गर्भिणी कुकर्नी माथि जाइ लागेका थिए । प्रतिकार गरेर आफ्नो छाउराछाउरी सहित परालको थुप्रोबाट फुत्कि ।
एक्कासी मेरो घरको ओस्रामा आए । रातमा आए । कुइकुइ गर्दै आए । कानले सुन्यो, उठें । कुकर्नी -याल चुहाउदै कुइ कुइ गर्दै आफ्ना छाउराहरुलाई चिसोबाट बचाउँदै थिईं । फेरि भूईँको पिढीं, झन चिसो । परालको थुप्रोतिर हेरें । भुस्या कुकुरहरुको झुण्ड देखें । बुझें झण्डै बिताएछ ।
कुहिरोले धपक्क छोपेको छ । आफूपनि चिसिदैछु । हत्त न पत्त सनपाटको बोरा थियो । एउटा तल भुईँमा ओच्छाइ दिएँ । अर्को ओढाई दिएँ ।
म पनि ढोका लगाएर सुत्न गएँ । पत्नी बिउँझिछे, प्याच्चै भनिन्, 'कतै नभएको जनावरको माया पनि तपाईंलाई नै लाग्दो रहेछ ।' मैंले सहज जवाफ दिएको थिएँ । त्यसै बखत दिएको थिएँ । 'तिमीलाई के थाहा ? त्यो गर्भिणी कुकर्नी पनि झण्डै बलात्कारको सिकार हुन पुगेकी थिईं ।'
यति भन्न भ्याएकै थिइन् । उनले फेरि भनिन्, 'यस्ता भुस्या कुकुरहरुलाई समाजबाटै लखट्नुस् ।'