- शरद प्रधानाङ्ग
भत्किएको जीर्ण सडक म
हिंड्छन् छाती माथी हजारौं भार
सबै छन् आफ्नै गन्तब्य अनि मस्तीमा
कसले पो बुझ्ने होला पीडाको मार
खै किन यदाकदा कहिलेकाँही
बेहुली जस्तो पो सिंगार्छन् मलाई
मतलब सकिएपछि
बाटो लाग्छन् गर्दैनन् कहिले भलाई
न्वारान भएदेखि आज सम्म
खै किन हो कहिले फेरिएन बस्त्र मेरो
कैयौं दिन कैयौं रात पर्खिएँ
सायद भन्छन् होला यहि हाल हो तेरो
हाङ्गो पात छाँटेपछि त
बोट बिरुवामा पनि मुना पलाउँछ
पाउँछु संधैं अनेकौं आश्वासन
मेरो जीर्णोद्धार खै किन कहाँ हराउँछ
हेपिएको बजार भित्रको
थोत्रो सडक रहेछुँ कसैको दृष्टि पर्दैन
क्षतविक्षत मेरो अस्थिपन्जर
उपचारमा खै किन कोहि अघि सर्दैन
धेरै असहज भयो मलाई
अब दुनियाँबाट चाँडै नै उठिदिन्छु
रमाउनु तिमीहरू नै
कहिल्यै नउठ्ने गरी धर्तीमा सुतिदिन्छ।