-सुरज दाहाल
प्रिय कविता ,
ठेस लागेर मैले रगत बगाएका
पत्थरहरुले सोध्लान
नक्कली मुस्कान छोडेर
तिमी किन रुदिनौ ?
र
आँशुको भेलमा
पहाडबाट इतिहास बगाएका
नदीहरुले सोध्लान
बाध्यताका बाध तोडेर
तिमी किन बगिनौ ?
अनि
मेरो दारुण यथार्थका
विक्षिप्त विम्बहरुले सोध्लान
मरुभुमिमा डुब्दा डुब्दै पौडेर
तिमी किन सुकिनौ ?
त्यसैले कविता !,
त्यसैले तिमी मौन बस
प्रिय कविता ,
भण्डार खाल अनि कोत पर्वमा चलेका
तारुण्य तरबारहरुले सोध्लान
जिन्दगीको भिड छोडेर
भिडमा तिमी किन बाच्दिनौ ?
अनि
हजार शताब्दीको निचता झेलेका
सगरमाथा अनि गौरीशंकहरुले सोध्लान
समयको सतह तोडेर
उच्चाईमा किन नाच्दिनौ ?
त्यसैले कविता ,
त्यसैले तिमी मौन बस !